• Saturday 25th of July 2026

अन्नपूर्ण दिवस : पर्वतारोहण पर्यटनबाट नेपाल चिनिएको दिन


  • गोकर्णेश्वर अनलाइन

चिप्लेढुङ्गा, २१ जेठ (रासस) : सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । नेपालको पर्यटन प्रवद्र्धन र विकासमा सो दिनलाई पर्यटन सम्बद्ध व्यवसायीले विशेष रुपमा लिने गर्छन् । विगतमा यस दिन पदयात्रासम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै आए पनि यस वर्ष भने कोरोनाका कारण अन्नपूर्ण दिवसको औपचारिक कार्यक्रम गरिएको छैन । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले अन्नपूर्ण हिमाल आरोहणपछि नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन सफल भइएको बताउनुभयो । “नेपालको पर्यटन क्षेत्रको ऐतिहासिक शुरुआत नै १९५० देखि भएको भन्न सकिन्छ । हर्जोगले विक्रम संवत् २००७ साल जेठ २१ गते शनिबारका दिन अन्नपूर्ण आरोहण गर्नुभएको थियो । यो नेपालका आठ हजार मिटर अग्लो हिमालमध्ये पहिलो चढिएको हिमाल हो । यससँगै उहाँले प्रकाशन गरेको ‘अन्नपूर्ण’ पुस्तकले पनि नेपाललाई विश्वसामु चिनाउन सफल भयो ।”

सगरमाथा संसारको अग्लो हिमाल भनेर चिनिए पनि वर्षेनी धेरै पर्यटक सगरमाथाभन्दा अन्नपूर्ण चक्रमा आउनामा हर्जोगकै योगदान मान्न सकिने उहाँको भनाइ छ । गण्डकी प्रदेशमा आठ हजार मिटरभन्दा अग्ला तीन हिमाल छन्ः धौलागिरि, मनास्लु र अन्नपूर्ण । उहाँले पर्वतारोहण पर्यटनबाट नेपाल चिनाउन पर्वतारोहण स्कूल सञ्चालन गरेर पनि यस क्षेत्रको विकासमा जुट्न सकिने बताउनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा पर्वतारोहण पर्यटनबाट नेपाललाई विश्वसामु चिनाएको दिनका रुपमा अन्नपूर्ण डेलाई लिनुपर्ने बताउनुहुन्छ । “पर्यटन क्षेत्रमा जून २१ सदा स्मरणीय र ऐतिहासिक दिन हो । विशेष गरी पर्वतारोहण पर्यटनको इतिहासमा यस दिनलाई स्वर्णीम दिनका रुपमा लिन सकिन्छ । अन्नपूर्ण हिमालसँगै फ्रेन्च नागरिक हर्जोग एक पर्यायवाची जस्तै बन्नुभएको छ । उहाँले हिमाल आरोहणको अनुभवसहित पुस्तक नै छाप्नुभयो । सो पुस्तक धेरै छापियो र पढियो । यसले नेपालका हिमाल र यहाँको सुन्दरतालाई विश्वमा चिनाउन सफल भयो ।”

हिमाल आरोही मिङ्गमा ग्याबु शेर्पा हर्जोगले हिमाल चढेर नेपाल चिनाएपछि नै विश्वबाट धेरै पर्यटकहरु हिमाल चढ्न आउन थालेको बताउनुहुन्छ । “हाम्रो देशको पर्यटन नै हिमाल आरोहणबाट शुरु भएको छ । यसमा हर्जोगको योगदान छ, हामी आरोहीका लागि त झन् आजको दिन विशेष हो । उहाँको योगदानलाई हामीले सदा स्मरण गर्नुपर्छ ।” पछिल्लो समय आरोहण पर्यटनका बारेमा भने व्यापक प्रचारप्रसार हुन नसकेको उहाँको भनाइ छ । आरोहणको क्षेत्रमा नेपाली आरोहीले २० भन्दा बढी विश्व रेकर्ड राख्न सफल भए पनि नेपाल सरकारले आरोहीलाई उत्साहित भएर प्रोत्साहन गर्न नसकेको गुनासो उहाँ गर्नुहुन्छ । सन् २०१० मा पहिलोपल्ट सगरमाथा आरोहण गर्नुभएका शेर्पाले आठ हजार मिटर अग्ला अन्नपूर्णसहित १४ हिमाल कान्छो आरोहीका रुपमा आरोहण गरेर र केटु हिमाल सबैभन्दा कम समय ६१ दिनमा आरोहण गरेर दुई विश्व कीर्तिमान राख्न सफल हुनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology