• Saturday 25th of July 2026

वर्षा शुरु भएपछि ग्रामीण क्षेत्रमा रोपाइँ शुरु


  • गोकर्णेश्वर अनलाइन

केही दिनदेखि लगातारको वर्षात्पछि जिल्लाका ग्रामीण क्षेत्रमा धान रोपाइँको चटारो बढेको छ । किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । समयमै मनसुन शुरु भई पानी पर्न थालेपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाइँ शुरु भएको जोरायल गाउँपालिका–३ का स्थानीय दिनेश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समयमै मनसुन शुरु भएको छ, किसानलाई धान रोपाइँले भ्याइनभ्याइ भएको छ, खाना खाने फुर्सद नै हुँदैन ।” जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाइँ गर्ने गरिन्छ भने आधुनिक कृषियन्त्रको पनि प्रयोग बढ्दो क्रममा रहेको जिल्ला कृषि एकाइ केन्द्र सिलगढी डोटीले जनाएको छ । जिल्लामा कूल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । कृषि एकाइ केन्द्र डोटीको तथ्याङ्कअनुसार गएको वर्ष डोटीमा २२ हजार ४४४ मेट्रिक टन धान फलेको र जसले गर्दा जिल्लामा २.१४ टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि भएको थियो । यहाँका ग्रामीण क्षेत्रमा धान रोपाइँको चटारो भए पनि जिल्ला सदरमुकाममा भने पानी नपर्दा धानको बेर्नासमेत राख्न सकिएको छैन ।

कोरोना भाइरसको त्रासका कारण जिल्ला बाहिर गएका यहाँका नागरिक गाउँ फर्किएका कारण गाउँमा धान रोपाइँसहित अन्य खेती गर्नमा निकै सहज भएको केआइसिंह गाउँपालिका–५ का लोकेन्द्र रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “शहर गएकाहरु सबै अहिले गाउँमा फर्किएका छन्, गाउँमा बाँझो रहेका जमिनमा खेती हुन थालेको छ, गाउँ रमणीय बनेको छ ।” कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न लकडाउन भएको करिब दुुई महिना नाघिसकेको छ । लकडाउनको असर सबै क्षेत्रमा परेको भए पनि यहाँका ग्रामीण क्षेत्रको कृषिकर्म भने जारी रहेको छ । देशका अन्य क्षेत्रमा कामकाज ठप्प भएजस्तो नभए पनि कृषि क्षेत्रमा काम गर्नेहरुले कोरोनाबाट जोगिने उपाय अपनाउँदै आफ्नो रोपाइँलागयतका काम गर्न थालेको बडीकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा रोपाइँको समय शुरु भएको छ, कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्दै किसान कृषि कार्यमा व्यवस्त छन् ।”

कृषि क्षेत्रमा काम गर्ने मजदुर दैनिकरूपमा तरकारी लगाउने, बिक्री वितरण गर्ने तथा पछिल्लो समय रोपाइँमा व्यस्त हुन थालेपछि गाउँघरमा निकै रमाइलो हुँदै आएको स्थानीयवासी बताउँछन् । यहाँका किसानले कृषिमा छ महिना खटिँदा आएको अन्नले वर्षभिरलाई पु-याउनुपर्ने भएकाले पनि अहिले सबै खाद्यान्न उत्पादनमा खटिन थालेका छन् । लम्बिँदै गएको बन्दाबन्दीले निर्माण, यातायात क्षेत्रसहित सबै क्षेत्र प्रायः ठप्प भएका बेला जिल्लामा रहेका नागरिक रोपाइँसहित कृषि काममा बढी व्यस्त हुन थालेको जोरायल गाउँपालिका–१ का डबलबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रका सबै काम ठप्प छन्, कृषि काम नगरेपछि के खाने भन्ने चिन्ता भएकाले पनि किसान अहिले कृषि क्षेत्रमा व्यस्त हुने गरेका छन् ।” विगतको समयमा बाँझो रहेका यहाँका खेतीयोग्य जमिनमा तरकारी तथा रोपाइँ हुन थालेपछि गाउँघरमा हरियाली हुनुका साथै बाँझो जमिन क्रमिकरुपमा साग, तरकारीलगायतका खेतीले हराभरा हुन थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology