• Saturday 25th of July 2026

जमिन एकीकृत गरेर व्यावसायिक कागतीखेती


  • गोकर्णेश्वर अनलाइन

–तारानाथ आचार्य पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखले भरिएका कान्लामुनि कठिनले वर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिँचाइको सधैं समस्या । काम गर्ने युवाको अभावका कारण धेरैले बँझाएका थिए । निकै दुःखले धानमात्रै भए पनि लगाउनेहरुलाई खर्च उठाउनै कठिन । बागलुङ नगरपालिका वडा नं १२ को सहँेलास्थित ठूलो फाँट यतिबेला सिङ्गारिएको छ । धानखेती गर्ने समयबाहेक अरु बेला दुबोको जालो देखिने खेत अहिले मल र माटोको सुन्दर समिश्रणले उर्वर देखिँदैछ । किसानले कागती बाली लगाउनका लागि यो खेतको मुहार फेरेका हुन् । यो फाँटमा रहेको खेतको मोही भने धेरै बागलुङ नगरपालिका–१४ मा बस्छन् । दूरीले टाढा र उत्पादनका हिसाबले खर्च उठाउन कठिन हुँदै गएपछि पछिल्लो समय किसानले विकल्प खोज्न थालेका छन् । परम्परागत खेती प्रणालीले गुजारा चलाउन कठिन हुँदै गएपछि यहाँका ४० किसानले समूह बनाएर अब खेतमा नयाँ बाली लगाउने तयारी थालेका हुन् । धान झुल्ने समयमा पहेँलपुर देखिने यो खेत अब भने पहेँला कागतीले भरिभराउ देखिनेछ । किसानले चासो कृषक समूह बनाएका छन् ।

तीन सय रोपनी जमिनलाई एकीकृत गरेर कागतीखेती गर्नका लागि उनीहरुले समूह बनाएर खेती गर्दैछन् । समूहमा आबद्ध हुनेले लगानी र प्रतिफल दुवैमा साझेदारी गर्नेछन् भने समूहले बनाएको दायराभित्र पर्ने तर समूहमा आबद्ध हुन नचानेका लागि वार्षिक मुआब्जा दिने व्यवस्थासहित जमिन एकीकृत गरिएको समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले बताउनुभयो । एक रोपनी जमिनको प्रतिवर्ष रु पाँच हजार उपलब्ध गराउनेगरी जमिन एकीकृत गरिएको हो । बाँझो र धानखेतीसमेत हुने यहाँको जमिनमा यसैवर्ष तीन हजार कागतीका बिरुवा लगाउन सबै तयारी पूरा भएको छ । “तीन हजार खाडल खनेर माटो मल मिलाउने काम भएको छ, असार लागेपछि बिरुवा रोपिन्छ”, सुवेदीले भन्नुभयो, “अब व्यावसायिक उत्पादनमा नलाग्ने हो भने गुजारा चल्दैन ।” एक सय रोपनी जमिन बिरुवाका लागि किसान आफैँले तयार पारेका हुन् । बाँकी २०० रोपनी जमिनमा पनि क्रमशः बिरुवा लगाउँदै जाने योजनामा किसान छन् । “सिजन छोपेर लगाउनुपर्ने भएकाले एकैपटक सम्भव छैन”, उहाँले भन्नुभयो, “क्रमशः ३०० रोपनी भरिभराउ बनाउँछौँ ।”

चार वर्षमा फसल लिन सकिने कागती लगाउन किसान हौसिएका छन् । समूहले तीन हजार बिरुवाका लागि मात्रै रु ४० लाख खर्च भएको जनाएको छ । “एउटा बिरुवाका लागि खाडल तयारीदेखि लगाउने बेलासम्म एक हजार २०० खर्च आउँछ”, समूहका सचिव नारायण सुवेदीले भन्नुभयो, “जमिनको हिसाब गरिएको छैन ।” “राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु”, उहाँले भन्नुभयो, “कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन यहाँका किसान कागती लगाउन थालेका छन् ।” चार वर्षपछि एउटै बिरुवाले एक वर्षमा फसल दिँदा १० बिरुवाबराबरको खर्च उठाउनेमा किसान विश्वस्त छन् । बजारमा कागतीको माग र मूल्य राम्रो रहेकाले उनीहरुले व्यावसायिकखेती थालेका हुन् । अहिले स्थानीय बजारमा कागतीको मूल्य प्रतिकिलो रु १७० पर्छ ।

एउटा वयस्क कागतीको राम्रो रुखले वर्षमा १०० किलोभन्दा धेरै उत्पादन दिन सक्छ । “तत्कालका लागि चार वर्ष किसानलाई खर्च चलाउन पनि कठिन हुनसक्छ तर चार वर्षपछिको आम्दानी राम्रो देखेका छौँ”, सचिव सुवेदीले भन्नुभयो, “कृषिमा लगानी नबढाए अब आम्दानीको आस छैन ।” उनीहरुले सोही जमिनमा घुसुवा बालीसमेत लगाउने योजना बनाएका छन् । कागतीको बिरुवा लगाएको जमिनमा कोसेबाली लगाउँदा कागतीलाई आवश्यक नाइट्रोजन पनि पुग्ने र तत्काल आम्दानीसँग पनि जोडिन सकिने भएकाले तयारी रहेको सुवेदीले बताउनुभयो । अदुवा, बेसारजस्ता नगदेबालीसमेत लगाउन सकिने विकल्पसहित किसानले कागतीको व्यावसायिक खेती थालेका हुन् । उनीहरुले व्यावसायिक कागतीखेती गर्न थालेको जमिनसम्म सडक नभएका कारण मल ओसार्न समस्या रहेको समितिका सदस्यहरु बताउँछन् ।

सडक र सिँचाइका लागि व्यवस्थापन गर्न सके वार्षिक लाखौँको आम्दानीसँग जोडिने गरी सामूहिक खेती थालेको सुवेदीले बताउनुभयो । नेपाली बजारमा अहिले प्रयोग हुने कागतीको १० प्रतिशतमात्रै नेपालमा उत्पादन हुने भएकाले यहाँ उत्पादन हुने कागतीका लागि बजारको भने समस्या नरहने उनीहरुको बुझाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology