• Thursday 10th of September 2026

रोपाइँको चटारोमा किसान


  • गोकर्णेश्वर अनलाइन

कोरोनाको कहर उस्तै छ । ७८औँ दिनदेखि बन्दाबन्दी छ । किसानलाई भने खेती नगरी सुख छैन । यतिबेला यहाँका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । मनसुनले साथ दिएपछि रोपाइँ चाँडै शुरु भएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । “मजुवा फाँटमा ७० प्रतिशत जति रोपाइँ सकिएको छ”, कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “जेठ दोस्रो सातादेखि नै यहाँ रोपाइँ शुरु हुन्छ ।” दैनिकजसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि यसपालि भने अलि छिट्टै मनसुन सक्रिय भएको छ । “किसान व्यस्त छन्, धमाधम रोपाइँ चलिरहेको छ”, गलकोट नगरपालिका–५ की इभा खत्रीले भन्नुभयो । १२ मुरी धान उब्जाउ हुने उहाँको खेतमा केही दिनअघि रोपाइँ भयो । तीन हल गोरु लागे ।

हली, खेताला, बाउसे गरी २२ जनाले एकै दिनमा रोपाइँ भ्याए । दुई बाली हुने खेतमा रोपाइँ छिटो हुने गरेको उहाँको भनाइ छ । गलकोटका मजुवालगायत फाँटखोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदीखोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत क्षेत्र पर्छ । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभर झण्डै १० प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिकजसो परेको वर्षाले किसानलाई राहत मिलेको छ ।

मनसुन जति छिटो सक्रिय हुन्छ, उति नै छिटो रोपाइँ हुन्छ । जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । जिल्लाको कूल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती हुन्छ । पछिल्लो समय धानको उत्पादन बढाउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् । उन्नत धानको खेती बढाउन किसानलाई बीउ वितरण, विज वृद्धि कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ्रे, छुन्दुङ, हिमाली, सावित्री, जेठो बूढो, सुख्खा १, २, ३ लगायत उन्नत धानको खेती हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology