• Saturday 25th of July 2026

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो । त्यस्तै १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताउनुभयो । त्यसैगरी, आठ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार ५७७ हेक्टर जमीन भएको कालीकोटमा २७ र दुई हजार ८०० हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाई भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाईंमा ढिलाई भएको जनाउनुभयो । मन्त्री केसीले भन्नुभयो, “कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषि कर्ममा क्रियाील हुन किसानहरुलाई अपिल गरिएको छ । यसअघि किसानहरुलाई खेती तथा धान रोपाईं कार्यमा कोरोनाले अन्योल बनाएपनि अब रोपाई कार्य तीव्र गतिमा जान्छ ।”

उत्पादनका कार्यलाई निरन्तरता दिनुका साथै यसको वृद्धि गर्नेतर्फ ध्यान नदिइए निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने कुरालाई सचेत गराउँदै उहाँले कृषिसम्बन्धी सम्पूर्ण गतिविधिहरुमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाइ सो कार्यलाई नियमित राख्न किसानहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology