• Wednesday 29th of July 2026

कर्णालीमा खाद्य वस्तुको अनलाइन होम डेलिभरी सेवा शुरु


  • गोकर्णेश्वर अनलाइन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन होम डेलिभरी सेवा शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले आज वीरेन्द्रनगरमा ‘नेपालफुड डट जिओभी डट एनपी’ पोर्टलको शुभारम्भ गर्नुभयो । मन्त्री बुढाले कोभिड १९ को जोखिमबाट सुरक्षित रहन अनलाइन कारोबार प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले कर्णाली सरकारले आगामी आर्थिक वर्ष ४० हजार मेट्रिक टन खाद्यान्न खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो । “प्रदेश सरकारले रोजगारी र खाद्य सङ्कटको अवस्थालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको छ”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री रोजगार, कामका लागि खाद्यान्न कार्यक्रममार्फत खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउँदैछौँ ।”

कार्यक्रममा मन्त्री बुढाले अनलाइन होम डेलिभरीका पहिलो ग्राहक सुर्खेतका व्यवसायी लक्ष्मण कँडेललाई बिल हस्तान्तरण गर्नुभयो । मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले बन्दाबन्दीमा अनलाइन कारोवार बढेको बताउनुभयो । खाद्य व्यापार कम्पनी लिमिटेडले कर्णालीको हिमालय क्षेत्रका अर्गानिक उत्पादनको बिक्री वितरण गर्न आग्रह गर्नुभयो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले उपभोक्ता सूचना प्रविधिमैत्री हुन जरुरी रहेको बताउनुभयो । कम्पनीले काठमाडौँ उपत्यका बाहिर पहिलोपटक कर्णालीमा अनलाइन होम डेलिभरी सेवा शुरु गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology