• Saturday 25th of July 2026

कौसी खेतीबाट मासिक ५० करोडको तरकारी


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताउनुभएको छ । पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो । महानगरले ‘छुट्याऔँ फोहर, बनाऔँ मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा महानगरका ११ वडामा अभियान सञ्चालन गरिने कडरियाले बताउनुभयो ।

अभियान सञ्चालन गर्न पोखरा महानगरप्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति गठन गरिएको छ । अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझावसमेत सङ्कलन गरिएको छ । महानगर प्रमुख जिसीले घरमा उत्पादन हुने फोहरलाई तीन प्रकारले वर्गीकरण गरी सङ्कलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताउनुभयो । उहाँले घरमा उत्पादित फोहरमध्ये कुहिने फोहरलाई प्राङ्गारिक मल तथा ऊर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताउनुभयो । जिसीका अनुसार फोहर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फोहरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका सङ्कलन प्रक्रियालाई यथास्थितिमा नै आगामी चार महिनासम्म निरन्तरता दिने, चार महिनाभित्रमा फोहरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गरिनेछ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहर मैला व्यवस्थापन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिनुभयो । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ । सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा दैनिक १८२ टन फोहर उत्पादन हुने गरेको बताउनुभयो । उहाँका अनुसार फोहरमध्ये ८० प्रतिशत घरयासी फोहर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताउनुभयो ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समितिका सदस्यसचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रूपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहर व्यवस्थापन गरिएको बताउनुभयो । बरालका अनुसार पोखरामा विसं २०५५ मा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र २०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology