• Saturday 25th of July 2026

आलु उत्पादन पचास प्रतिशत ह्रास


  • गोकर्णेश्वर अनलाइन

पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु उत्पादनमा कमी आउन थालेको छ । प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि किसानमा चिन्ता छाएको छ । पार्वती कुण्डको काखमा अवस्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गतलाङ क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानले आलुखेती गर्ने गरेका छन् । उत्पादित आलु बिक्रीबाट प्राप्त आम्दानीले चामल, नुन र तेल खरीद गर्ने चलन छ । उत्पादन घटेपछि खाद्य सामग्री जुटाउन धौधौ पर्ने अवस्था आउन थालेको स्थानीय समाजसेवी मारलामा तामाङले बताउनुभयो ।

विगतमा वार्षिक रु चारपाँच करोडको आलु उत्पादन हुने गतलाङमा यस वर्ष रु दुई करोड आम्दानी हुन मुश्किल देखिएको बताउँदै समाजसेवी तामाङले अबका दिनमा परम्परागतभन्दा आधुनिकतातर्फ जान कृषि प्राविधिकको खाँचो रहेको उहाँको भनाइ छ । गतलाङ क्षेत्रमा अहिले दुई सयभन्दा बढी किसान आलुखेतीतर्फ लागेको बताइएको छ । मकै–कोदोभन्दा आलुको उत्पादन राम्रो हुने र आय वृद्विमा समेत थप टेवा पुग्ने भएका कारण किसानको चाहनानुरूप तत्कालीन कृषि कार्यालयले गतलाङका भूभागलाई आलुको पकेट क्षेत्र निर्धारण गरे पनि हाल कृषि प्राविधिकको उपस्थिति शून्य हुँदा रोपण गर्ने नयाँ तौरतरिका जान्न समस्या परेको किसानले गुनासा गरेका छन् ।

स्थानीय जातका गाई, भेंडा र बाख्राका मलबाट उत्पादित प्राङ्गारिक गतलाङे आलु प्रतिकेजी रु ३६ किसानले पाउने तय भएको बताइएको छ । वर्षे आलु गतलाङका अलावा गोल्जुङ, चिलिमे सिम्बु, तातोपानी, थुमन, बृद्धिम, भार्खु, ठूलोस्याफ्रु, हाकु, राम्चे र यार्सा क्षेत्रका किसानले समेत उत्पादन गर्ने गरेका छन् । हिउँदमा आलु रोपण गरेपछि प्रायःजसो समय भारी वर्षा भइँरहदा न्यून रूपमा फलेका फल कुहिने भएकाले किसानले आलु खन्ने कामसमेत शुरु गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । हिमाली चिसो पानीमा उत्पादित आलु स्वादिलो हुने गरेकाले छिमेकी जिल्ला नुवाकोटका अलावा काठमाडौँ र धादिङसम्म निकासी हुने गरेको गतलाङका बुद्धिजीवी पेम्बा तामाङले जानकारी दिनुभयो । गतलाङमा वार्षिक करीब १० हजार टन आलु उत्पादन हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology