• Saturday 25th of July 2026

होटल व्यवसायीलाई घर भाडा तिर्नै समस्या


  • गोकर्णेश्वर अनलाइन

राँझा, १९ साउन (रासस) : बाँकेमा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएसँगै पुनः बन्दाबन्दी जारी भएपछि यहाँका होटल व्यवसायी निराश बनेका छन् । चार महिनादेखि बन्द होटल सञ्चालनका क्रममा रहेकै बेला पुनःबन्दाबन्दी जारी भएपछि बाँकेका होटल व्यवसायी निराश बन्न पुगेका होटेल व्यवसायी सङ्घका अध्यक्ष भीमलाल कँडेलले बताउनुभयो । “कोरोनाका कारण बाँकेका साना तथा मझौला होटलसमेत विस्थापित हुने अवस्थामा पुगेका छन्, कैयौँले बिक्री गरेर विस्थापित भइसकेका छन्”, अध्यक्ष कँडेलले भन्नुभयो, “लकडाउनका कारण चार महिनादेखि बन्द रहेका होटल खुल्ने सुरसारमा थिए फेरि लकडाउन भयो, घरभाडा तिर्नै समस्या छ ।”

बन्दाबन्दी खुलेसँगै साना तथा मझौला होटलले सेवा सञ्चालन गर्दै आएको भए पनि व्यापार नहुँदा खर्च धान्नै नसक्ने स्थितिबाट गुज्रिरहेको अवस्थामा फेरि कोरोना सङ्क्रमण देखिएपछि होटल व्यवसायी धराशायी हुने उहाँको भनाइ थियो । बन्दाबन्दीको मारमा अधिकांश साना तथा मझौला होटल व्यवसायी पर्ने गरेको कँडेल बताउनुहुन्छ । “एकातिर व्यवसाय छैन, अर्कोतिर घरबेटीले घरभाडामा छुट दिएका छैनन् कतिपय स्थानमा लकडाउन अवधिको भाडा एकमुष्ट मागेपछि व्यवसायी झनै चिन्तित बनेका छन्”, अध्यक्ष कँडेलले भन्नुभयो । सरकारले बन्दाबन्दीका कारण बन्द रहेका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय ग¥यो । त्यसपछि बाँकेका ठूलो लगानीका होटल सञ्चालनको तयारी भइरहेका बेला पुनःबन्दाबन्दी थपिएपछि सञ्चालनमा अन्योल देखिएको होटल व्यवसायी महासङ्घ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिनुभयो ।

१४१ घरधनीबाट भाडा छुट

कोरोना भाइरस महामारी रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा बाँकेका १४१ घरधनीले उद्योगी, व्यवसायीलाई घर भाडा छुट गरेका छन् । कम्तीमा एक महिनादेखि बढीमा चार महिनासम्मको घरभाडा छुट भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी वलीले जानकारी दिनुभयो । उहाँका अनुसार घरभाडा छुटको तथ्याङ्क सङ्कलन भइरहेको छ । करिब रु तीन करोड बराबरको घर भाडा छुट भएको अनुमान छ । घरधनीले कम्तीमा रु १० हजारदेखि रु एक लाख ५० हजारसम्म बढी छुट दिएको पाइएको छ । भाडा छुट पाउनेमा आधाभन्दा बढी होटल रेष्टुरेन्ट नै छन् । कपडा पसल, ज्वैलर्स, प्लाष्टिक, बिजुली, बैंक, वित्तीय संस्थालगायत रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology