• Saturday 25th of July 2026

प्राविधिक नहुँदा किसान हैरान


  • गोकर्णेश्वर अनलाइन

बागलुङ नगरपालिका–८ सिगानामा चालू वर्ष १० हजारसहित ३० हजार सुन्तलाका बिरुवा रोपिएका छन् । तीन वर्षदेखि हरेक वर्ष १० हजार बिरुवा रोपिएकाले केही वर्षमै उत्पादन दिनेछन् । धान, मकै र कोदो बाली मासेर किसानले रोपेका बिरुवामा सामान्य समस्या आए पनि हेरिदिने प्राविधिक भने कोही छैनन् । नगरपालिकामा कृषि शाखा रहने कानूनी प्रावधान भए पनि सदरमुकामकै नगरपालिकामा कृषि प्राविधिकसमेत छैनन् । दुई वर्षअघिदेखि कृषि विकास कार्यालयकै भवनमा नगरपालिका सरे पनि कृषिको प्राविधिक नराख्दा किसान निराश छन् । तरकारी खेतीदेखि फलफूल र माछापालनसमेत गर्नेले सामान्य सल्लाह सुझाव लिने ठाउँ पनि पाएका छैनन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका सुन्तला जोनमा समावेश भए पनि जोनको कार्यालय भने म्याग्दीमा छ ।

सिगानाजस्तै बागलुङका धेरै स्थानीय तहमा कृषिका धेरै प्रकारका फसल रोपिएका छन् । व्यावसायिक उत्पादन गर्न खोज्दा उनीहरुले प्राविधिक सल्लाहसमेत पाउन सकेका छैनन् । ताराखोला, जैमिनी र बरेङमा अलैँची, बडिगाडमा किवी र गलकोटमा अदुवा लगाएका किसानले सामान्य सेवा लिने ठाउँ नभेटेको गुनासो गरेका छन् । ताराखोलाबाट पश्चिम ढोरपाटनसम्मको भूगोल आलु जोनमा समावेश छ । त्यसको कार्यालय बडिगाडमा भए पनि किसानले सामान्य समस्या पर्दा सेवा नपाउने समस्याले हैरान भएको वडा नं ८ का अध्यक्ष राजन जिसीले बताउनुभयो । “कृषिको विकास गर्ने हो भने कम्तीमा एक अधिकृतसहितको कृषि प्राविधिक रहेको शाखा बनाउनुपर्छ”, उहाँले भन्नुभयोे, “नगरपालिकाले अन्य क्षेत्रमा धेरै कर्मचारी करारमा राख्दा कृषिलाई कहिले पनि सम्झेन ।”

कार्यपालिकामा पटक–पटक आवाज उठाएर पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । जिसीको बारीमा पनि झण्डै २०० सुन्तला छन् । सबै खेतीको माया मारेर लगाएको सुन्तलाबाट आम्दानी भइरहे पनि सामान्य समस्या पर्दा प्राविधिक नपाएर पर्वत पुग्नुपरेको गुनासो गरे । “ज्ञान केन्द्रको कार्यालय खोज्दै पर्वत पुग्नुपर्छ, सामान्य समस्याको समाधान दिने अवस्था पनि किसानलाई दिन सकिएन”, उहाँले गुनासो गर्दै भन्नुभयो, “कृषिप्रधान देशमा कृषि कार्यालय हटाएर के गर्न खोजिएको हो बुझ्नै सकिन ।” पात पहेँलो भएर झरे पनि प्राविधिकले अर्को जिल्लाको कार्यालय धाउनुपरेको उहाँले बताउनुभयो । सिगानामा मात्रै झण्डै चार हजार रुखसहितको व्यावसायिक सुन्तला उत्पादन भइरहेको थियो ।

अबका दुई वर्षमा १५ हजार बिरुवामा सुन्तला फलाउने र चार वर्षमा ३० हजारमा फलाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । नगरपालिकाले करारमा ५० बढी कर्मचारी राखिसकेको छ । लेखा, प्राविधिक, प्रशासन र स्वास्थ्य शाखामा समेत धेरै कर्मचारी भर्ना भइसकेका भए पनि कृषि शाखामा भने कर्मचारी छैनन् । किसानले रोपेका बिरुवा ३० प्रतिशतसम्म मर्ने गरेकाले रोप्ने विधि सिकाउनेदेखि पानी र मलको मात्रा बारे पनि सिकाउने कोही नभेटेर निराशा बढेको जिसीको भनाइ छ । बागलुुङको सिगाना र काठेखोलाको बिहुँका किसानले व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । सुन्तला बेचेर यी गाउँमा रु दुई करोडका दरले रकम भित्रिन्छ । आगामी दिनमा रु १० करोडसम्म कमाउन सक्ने गरी तयारी भएको छ । किसानकै अगुवाइमा कमाइको तयारी भइरहे पनि नगरपालिकाको ध्यानाकर्षण गराउन सञ्चार क्षेत्र सक्रिय बन्नुपर्ने जिसीले सुझाव दिनुभयो । नगरप्रमुख जनकराज पौडेलले भने मन्त्रालयले पठाउने भन्दै ढिलाइ गरेकाले नियुक्ति रोकिएको बताउनुभयो ।

“फागुनमा आउने भनेका कर्मचारी आएनन्, कोभिडपछि झन् आउने सम्भावना ट¥यो”, पौडेलले भन्नुभयो, “बजेट व्यवस्थापन गरेर अब भने करारकै भए पनि राख्छौँ ।” समायोजनमा अधिकृतस्तरकै कर्मचारी आउने भनेकाले कुरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले किसानको समस्या र गुनासो आएपछि तत्काल पुगेर सल्लाह दिए पनि नियमित जान नसकिएको बताउनुभयो । “स्थानीय पालिकामा प्राविधिक भयो भने पहिलो चरणको सल्लाह र सेवा पाएपछि किसानको गुनासो कम हुन्छ”, रेग्मीले भन्नुभयो, “विशेषज्ञ सेवाका लागि ज्ञान केन्द्र पुग्ने वातावरण पालिकाले बनाउनुपर्छ ।” बागलुङको गाउँगाउँका किसानले सयौँ खर्चेर पर्वतको ज्ञान केन्द्र धाउने भने गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology