• Saturday 25th of July 2026

नवलपरासीमा भदौ १ देखि घरबास सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने भएका हुन् । करीब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ गतेदेखि होटल खुला भइसकेका अवस्थामा जिल्लामा सञ्चालित घरबाससमेत खोल्ने तयारी गरिएको होमस्टे एसोसिएसन नेपालका केन्द्रीय महासचिव एवम् अमलटारी मध्यवर्ती सामुदायिक ग्रामीण होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो । लामो समयदेखि ठप्प पर्यटकीय गतिविधिलाई घरबास सञ्चालनमा ल्याएपछि पुनः चलायमान बनाउन मद्दत गर्ने मर्दनियाको भनाइ छ ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकादेखि विनयी त्रिवेणी गाउँपालिकासम्म नारायणी नदी किनारमा मात्रै ११ सामुदायिक घरबास दर्ता भएर सञ्चालनमा छन् । घरबास स्वरोजगार हुने माध्यम भएकाले थप परिमार्जन गर्दै सञ्चालन गर्न तयारी भइरहेको होमस्टे एसोसिएसन नवलपुरका अध्यक्ष रिमबहादुर आलेले बताउनुभयो । साउन १५ पछि केही घरबास खुला गरिए पनि पर्यटकको चहलपहल नहुँदा बाँकी सबै भदौ १ देखि मात्रै खोल्ने तयारी गरिएको आलेको भनाइ छ । देवचुली नगरपालिका–१७ को पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष जनकबहादुर महतोले अझै पनि समुदायमा कोरोनाको त्रास कायमै रहेकाले घरबास खोले पनि पर्यटक नआउने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

यहाँका घरबासमा आउने अधिकांश पर्यटक सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी तथा पदयात्राका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित यहाँका घरबासमा आउने पर्यटकले विश्वकै दुर्लभ एकसिङ्गे गैँडा सजिलै अवलोकन गर्न पाउने अमलटारी होमस्टेका अध्यक्ष मर्दनियाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology