पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ । कोभिड– १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेको विपन्न पर्यटन मजदूरलाई मञ्चले राहत वितरण गरेको हो । कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९, को असरमा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र लाखाँैको रोजीरोटी गुमेको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले व्यवसायी महिलाले कोभिड–१९, को असरमा परेका पर्यटन मजदूरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका जानकारी दिनुभयो ।
वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रको मजदूरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताउनुभयो । पहारीले कोरोनाको सङ्क्रमण वडामा देखिए पनि आत्तिएरभन्दा सुरक्षित भएर यसबाट जोगिनुपर्ने धारणा राख्नुभयो । महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले मजदूर र व्यवसायी एकसिक्का दुई पाटा रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा मजदूरको योगदानलाई बिर्सन नहुने भन्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरेको बताउनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत ३० जना मजदूरलाई चामल, दाल, तेल, नूनलगायतका सामग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिनुभयो ।
