• Tuesday 28th of July 2026

बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरु असफल


  • गोकर्णेश्वर अनलाइन

विलमिङ्टन, डेलावेयर, २९ साउन (रासस–एपी) –– अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गर्नु भएको छ । विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।

बुधवार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो । उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो ।

कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नु भएको थियो । ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गर्नु भएको थियो । ह्यारिसले भन्नुभयो, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।” उहाँले भन्नुभयो, “हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो ।”

अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उहाँ पहिलो अश्वेत महिला हुनुहुन्छ । ह्यारिस र बाइडेन दुबैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गर्नु भएको थियो । राष्ट्रपति ट्रम्पले बिडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैं कडा टिप्पणी गर्नु भएको छ । उहाँले डेमोक्र्याट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाउनुभयो । उहाँले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुबैबीच व्यापक असहमति रहेको पनि उल्लेख गर्नु भएको छ । “ह्यारिसले बाइडेनमाथि निकै आपत्तिजनक शब्द प्रयोग गर्नु भएको थियो,” ट्रम्पले बुधबार भन्नुभएको छ । तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाउनु भएको छ । दुबैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाउनु भएको थियो ।

ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने संकेत गर्नु भएको छ । बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुबै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ । बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताउनु भएको छ । २४ घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर संकलन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology