• Saturday 1st of August 2026

सिरहाका सबै स्थानीय तहमा आजदेखि १५ दिन लकडाउन


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताउनुभयो । यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ ।

सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिनुभयो । यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि आज बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताउनुभयो । त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ । गोलबजार नगरपालिकाले आज बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिनुभयो ।

नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ । यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आजदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology