• Saturday 1st of August 2026

पुनःनिर्माण र पुनःस्थापनाका अनुभव साट्न राष्ट्रिय परिसंवाद


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ साल वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालको पुनःनिर्माण तथा पुनःस्र्थापनामा संलग्न विभिन्न निकाय एवम् साझेदार सङ्घसंस्था, विज्ञलगायत सरोकार भएका व्यक्तिलाई एउटै मञ्चमा ल्याएर परिसंवाद गर्न लागिएको हो । पुनःनिर्माण तथा पुनःस्थापनाका क्रममा प्राप्त सफलता, उपलब्धि एवम् कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौँमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो । परिसंवादमा पुनःनिर्माण र पुनःस्थापनाका ६ वटा विषयगत क्षेत्र क्रमशः निजी आवास पुनःनिर्माण, सार्वजनिक एवम् सामाजिक पूर्वाधार पुनःनिर्माण, सांस्कृतिक सम्पदा पुनःनिर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवम् सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुनेछन् ।

परिसंवादमा प्राधिकरणलगायत सरकारी निकायका प्रतिनिधि, पुनःनिर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञ, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि एवम् कार्यपत्रका प्रस्तोता सहभागी हुने प्राधिकरणका सहप्रवक्ता एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्य–सचिव मनोहर घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन दर्ता प्रक्रियामार्फत् भाग लिन सक्नेछन् । त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्न सकिने उहाँले सुनाउनुभयो । कार्यक्रममा औपचारिक र प्राविधिक गरी दुई सत्र हुनेछ । भदौ ८ गते सोमबार ९ः३० मा उद्घाटन शुरु हुनेछ । कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन् । हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ । जसमा ४ वटा शोधपत्र पेश हुनेछन् । प्रत्येक दिन साँझ ४ः३० सम्म कार्यक्रम चल्ने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology