• Saturday 1st of August 2026

गौरा पर्व शुरु, कोभिडले हरायो रौनक


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखी भगवान महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय समाजसेवी रमेश पाण्डेयले बताउनुभयो । महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला र नदीका मुहानमा बिरुडा भिजाउने कार्य गरेको उहाँले बताउनुभयो । षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी कण्ठसूत्र (दुव धागो) धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

सप्तमीका दिन महिलाले दिनभरि ब्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत विद्यमान रहेको छ । सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । विगतमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहेपनि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण महिलाहरुले घर परिवारका सदस्यहरु मिलेर गौरा भित्राएका छन् ।

गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमीमा महिलाले बिहानै खोला तलाउनमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर महिलाले नाच्ने गर्दछन् । अठेबालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेबाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारी बताउनुहुन्छ । अठेवाली गीत गाउदा महिलाहरुले एकले अर्काको कान्छी औंला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् । यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देबीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ ।

पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो । अहिले वासिन्दाहरुले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घर घरमा भिजाउने गरेका छन् । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको भण्डारीको भनाइ छ । पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी ब्रत बस्ने गर्दछन् । ब्रत बसेको अठेबालीका दिन गौरा देवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषहरुले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । धुमारी र ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथाहरु भन्ने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने गौराको बिसर्जन नहुँदासम्म महिला र पुरुष सबैले ठाडो खेल र देउडा खेलेर धुमधामसँग मनाउने गर्छन् । गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ ।

यस बेलासम्म महिलाहरु निराहार हुन्छन् र कसैले फलाहार गर्छन् । यसअघि महिलाहरुले आफना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेबालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भन्ने गरिएको संस्कृतिका जानकार टेकबहादुर हमाल बताउनुहुन्छ । अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुसी बनाउन अठेबालीका दिन पुरुषले विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् । महिलाहरुले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ ।

त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । अठेबालीका दिन पुरुषहरुले आफ्नो जनै समेत फेर्न गर्छन् भने ब्रत बसेका महिलाहरुले नयाँ दुबो धागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देश विदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । कारोना भाइरसको सङ्क्रमण फैलिएपछि यसवर्ष विदेशबाट फर्कनेहरु अगाडि नै घर फर्के पनि गौराको रौनक भने नभएको समाजसेवी शेरबहादुर भण्डारीले भन्नुभयो, “यसवर्ष घरभित्र सीमित रहेर गौरा बनाइन थालेकाले गौरा पर्वको खासै रौनक छैन् ।” बर्खे खेतीपछिको थकाइ मार्न सबै गौरामा रमाउँछन्, धनी गरीब भनिदैन, सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित जलाशय वा नदी किनारहरुमा विर्सजन गरिन्छ । यसै अवसरमा सरकारले गौरा पर्वको विदा दिने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology