• Saturday 25th of July 2026

कृषि व्यवसायमा रमाउँदै युवा


  • गोकर्णेश्वर अनलाइन

बनेपा, ८ भदौ (रासस) : विदेशबाट फर्केका युवाहरुले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ८ मल्पीमा सामूहिक व्यवसाय शुरुआत गरेका छन् । ‘हिमाल एकीकृत कृषि फर्म’ सञ्चालन गरी उनीहरुले ११ रोपनी जग्गामा गत कात्तिकदेखि संरचना निर्माण शुरु गरी भैंसी र गाई पाल्न थालेका हुन् । रू एक÷एक लाख जम्मा गरी २४ युवाले व्यवसाय शुरु गरेका थिए । अहिले भैंसीगाई पालन र धान खेतीसमेत गरिएको छ । पैसा कमाउनको लागि युवाहरु विभिन्न खाडी मुलुक तथा अन्य देशमा जानुपर्छ भन्ने सोचाइको अन्त्य गर्न आफूहरुले व्यवसाय शुरु गरेको उनीहरुले जनाएका छन् । साथै स्वदेशमा नै विभिन्न व्यवसायमा लागेर आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ सामूहिक रुपमा काम थालनी गरिएको उनीहरुको भनाइ छ ।

“विदेशमा गर्ने दुःख नेपालमै गरौँ भनेर साथीभाइको सल्लाहले काम शुरु गरेका छौँ ”, उनीहरु भन्छन्, “यसबाट उदाहरणीय काम गरेर विदेशिएका अरु दाजुभाइलाई पनि स्वदेशमा नै केही गर्न प्रेरणा दिन सक्छौंँ भन्ने संकल्प लिएका छौंँ ।” विदेशमा आफूहरुले भोग्नुपरेका दुःख सम्झेर नेपालमा नै केही गरेर देखाउने उनीहरुको भनाइ छ । अहिले कोभिड–१९ को प्रभावको कारण सोचेजस्तो काम गर्न नपाएको उनीहरुले जनाएका छन् । सामूहिक रुपमा कृषि कार्यमा लागेका युवाको योजना कोरोना भाइरस प्रभावका कारण थप अगाडि बढ्न सकेको छैन । पनौती नगरपालिका– ४ मा बसोबास गर्दै आउनुभएका दिनेशकुमार बजगाईंले कोरोना भाइरस प्रभावका कारण सोचेजति व्यवस्थित र स्तरबृद्धि गर्न नपाएको जानकारी दिनुभयो ।

उहाँको नेतृत्वमा व्यवसायमा संलग्न २४ युवामध्ये श्यामहरि महाजु, बुद्धिमान विक, राजकुमार थापा, रामेश्वर हुमागाईं विशेष सक्रिय भएर काम गरिरहनुभएको छ ।‘प्रवासबाट आर्जित सीप ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नाराका साथ उनीहरूले सामूहिक भैंसीपालन व्यवसाय शुरु गरेका हुन् । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भएकाले त्यसतर्फ लागेको उहाँले बताउनुभयो । विदेशबाट फर्केकाहरुको संगठन ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रे शाखामा आबद्ध युवाहरुले सञ्चालन गरेको सो फार्ममा पाँच वर्षमा सय भैंसी पु¥याउने, सय रोपनी जग्गा भाडामा लिने, त्यसमा भैंसीसंँगै गाई, बाख्रा, कुखुरा हाँस, कालिज र टर्की पाल्ने योजना रहेको र केही जग्गामा गोठबाट उत्पादित मलको सदुपयोग गर्दै अर्गानिक तरकारी खेतीको पनि शुरुआत गर्न लागिएको विकले जानकारी दिनुभयो ।

यसका लागि हाल ८० रोपनी जग्गा भाडामा लिइसकिएको संस्थाका अध्यक्षसमेत रहनुभएका बजगाईँले बताउनुभयो । चार वर्षसम्म साउदीमा बसेर फर्कनुभएको उहाँ साथीहरुसंँगै सामूहिक व्यवसायमा लाग्नुभएको हो । फरक फरक ठाउँका युवा मिलेर सामूहिक रुपमा काम शुरु गर्दा जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेको उहाँले बताउनुभयो । सोअनुसार कृषि फर्मको व्यवस्थापन तेमाल गाउँपालिका वडा न १ का आधाबाटका विकले गर्दै आउनुभएको छ । हाल पनौती बस्दै आउनुभएका उहाँको फर्ममा ६ भैंसी र एउटा गाई छन् । हाल दैनिक ५० देखि ५५ लिटरसम्म दूध उत्पादन गरिँदै आएको छ । उत्पादित दूध संस्थाका शेयर सदस्यसमेत रहनुभएका खुवा ठेकेदार विजय स्याङ्तानले किनेर खुवा बनाएर बेच्दै आउनुभएको छ ।

सबै कामकाज आफूहरुले मिलेर गर्ने गरेको र केहीलाई रोजगारीसमेत दिइएको व्यवस्थापक विकले जानकारी दिनुभयो । विदेशबाट फर्किएका युवालाई उत्साह र उत्प्रेरणा दिने काम राष्ट्रिय युवा परिषद्ले गरेको र त्यसैका साथबाट अहिले सो अभियान थालिएको बजगाईँले बताउनुभयो । युवाहरुको अभियानमा साथ दिनुभएको छ पनौती ७ मल्पीका भीमसेन बस्नेतले । सिद्धार्थ वनस्थली इष्टिच्युटको प्राचार्यबाट अवकाश पाएपछि मल्पी रहेको आफ्नै घर नजिक बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको उहाँले आफू आबद्ध हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि पनौती, इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था पनौती र छिमेकी बचत तथा ऋण सहकारी संस्था लि पनौतीसंँग मिलेर अभियानमा साथ दिँदै आएको जानकारी दिनुभयो ।

“मेरो उद्धेृश्य भनेको केही गर्न लाग्नेहरुलाई साथ र हौसला दिनु हो ”, उहाँले भन्नुभयो, “यसमा म आफैँ पनि काममा संलग्न हुँदै आएको छु र गर्न खोज्ने साथीहरुलाई सहकार्य गर्दै आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने काममा सहयोग गर्दै आएको छु ।” फर्मले शुरु गरेको काममा आफू अध्यक्ष रहेको हिमशिखरबाट पाँच लाख सहुलियत ऋण उपलब्ध गराइसकेको र त्यसलाई बढाएर रू दश लाखसम्म दिने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । हरेक काम सामूहिकतामा नै सम्भव हुने भएकाले समूहमा बसेर गर्दा जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने भावले काम गरिरहेको उहाँको भनाइ छ । यसका साथै ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रेको पहलमा संस्थालाई एनएमबी बैंक बनेपा शाखाले दश लाख विनाधितो सहुलियत कर्जा दिने निर्णय भइसकेको छ । अहिले सो फार्ममा कुशादेवीका रघुनाथ तिमल्सिना परिवार र सिन्धुपाल्चोकका एक जनाले काम गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology