• Saturday 25th of July 2026

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताउनुहुन्छ । उहाँले भन्नुभयो “यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।” कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहा“ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटा गुनासो गर्नुहुन्छ । कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ ।

किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिएकामा पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने अनुमान गरिएको छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटा हुने भएको छ । जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,“असिनाका कारण समेत केही प्रभाव पा¥यो, केही स्थानमा एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।” जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि किसान हतारिएका छन् ।

कार्यालयका अनुसार यहाँको तिला गाउँपालिका र तातोपानी गाउँपालिकाबाट झण्डै ६० देखि ७० टनसम्म स्याउ बजारसम्म पुगिसकेको छ । कृषि विकास कार्यालयले एक महिनाअघि भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरेको भएपनि यहाँका स्थानीय तहले जथाभावी सिफारिस दिँदा बजारमा काँचो स्याउ गएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । सबै स्थानीय तहमा ५० बेडको आइसोलेसन निर्माण हुदै जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण भइरहेका छन् । पालिकामा रहेको पायक पर्ने स्थानमा आइसोलेसन निर्माणको काम चलिरहेको छ । जिल्लाको हिमा गाउँपालिकामा ५० शय्याको आइसोलेसन निर्माण भएर सङ्क्रमित बसिसकेका छन् ।

त्यहाँ नेपाली सेनाको रेखेदेख रहने सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,“पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हरेक स्थानीय तहमा आइसोलेसन निर्माण प्रक्रिया अघि बढेको छ ।” जिल्लामा लक्षण बिनाका सङ्क्रमित देखिएकाले पनि तत्काल गाउँपालिका स्तरका आइसोलेसनमा सङ्क्रमित राखेर निगरानी गरिने सहायक प्रजिअ देवकोटाले बताउनुभयो । स्वास्थ्य अवस्था सामान्य रहेकालाई मात्र गाउँपालिका स्तरका आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । लक्षण देखिएका तर स्वास्थ्य अवस्था असामान्य भएकालाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा ल्याइने र जिल्लाका सबै लक्षण बिनाका कोराना सङ्क्रमित भएकाले अवस्था सामान्य छ ।

कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ कार्य धमाधम चलिरहेको छ । अहिले स्वास्थ्य कार्यालय र कर्णाली प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली स्वाब सङ्कलन गर्न गाउँमा खटिएका छन् । पालिकास्तरमा बस्ने आइसोलेसनमा कतै नेपाली सेना, कतै प्रहरी र कतै सशस्त्र प्रहरीले रेखदेखको जिम्मेवारी लिएको प्रशासनले जनाएको छ । सबै पालिका र शङ्कास्पद ठाँउमा स्वाब सङ्कलन भएर परीक्षण भइसकेपछि निषेधाज्ञा खोल्ने या नखोल्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । सहजै रुपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकूल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology