• Saturday 25th of July 2026

पूर्वलडाकुको कृषि मोह : चियाको राजधानीमा कफीको शुरुआत


  • गोकर्णेश्वर अनलाइन

झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताउनुभयो । समाज परिवर्तनका लागि भोजराजले साथी÷सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुप¥यो । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने भोजराजलाई लाग्यो । यसपछि भोजराज यही उद्देश्य लिएर नयाँ जीवन जिउनका लागि घर सर्नुभयो । नयाँ किसिमको खेतीबाली गरेर जीविकोपार्जन गर्न भन्दै उहाँ झापाबाट इलाम सर्नुभयो ।

उहाँलाई सेना÷प्रहरीमा जागिर खानका लागि पनि प्रस्ताव नआएको होइन तर हतियार बोकेर वाक्क हुनुभएका भोजराजलाई फेरि त्यही काम गर्न जाँगर आएन । शुरुमा झापामै केही व्यवसाय गर्ने सोच पनि आएकोे थियो तर छोराछोरीको भविष्य र पारिवारिक जिम्मेवारी थेग्न त्यो व्यवसायले खाँचो टार्ने देखिएन ।

यत्तिकैमा एक दिन भोजराजकै एक साथीले कफीखेती गर्ने सल्लाह दिए । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि भोजराज झापा छाडेर इलाम उक्लिनुभयो । चियाको प्रख्यात जिल्ला इलाममा त्यसबेला धेरैलाई कफीको बारेमा पत्तै थिएन । चिया नै चियाले घेरिएको ठाउँमा एक्ला भोजराजले कफीको शुरुआत गर्नुभयो ।

पहिलो गाँसमै ढुङ्गा

आफ्नो पुख्र्याैली घर रहेको इलाम नगरपालिकाको गोदकमा जग्गा ठेक्कामा लिएर भोजराजले कफीखेती शुरु गर्नुभयो । केही साथीसँग मिलेर खेती पनि गर्नुभयो तर आम्दानी भने सोचेजस्तो भएन । कफीका लागि आवश्यक हावापानी नमिलेपछि भोजराजको लगानीसमेत उठेन । शुरुमा सोधखोजै नगरी गरेको खेतीबाट फाइदा हुने छाटँकाँट देखिएन । आम्दानी राम्रो नभए पनि भोजराजले हिम्मत भने हार्नुभएन । उहाँले यो ठाउँमा एबोगार्डो, लिचीखेती गर्नुभएको छ तर भोजराजले कफीखेती भने रोङ गाउँपालिकास्थित लक्ष्मीपुरमा गर्दै हुनुहुन्छ ।

दुई वर्षअघिदेखि लक्ष्मीपुरमा शुरु भएको कफी भने आशलाग्दो देखिएको छ । गाउँमा नयाँ खेती शुरु भएपछि भोजराजलाई पछ्याउँदै अरूले पनि कफीखेती थालेका छन् । भोजराजले ३० रोपनी जग्गामा कफी लगाउनुभएको छ । “रु १५ लाख लगानी गरेँ, आम्दानी उठ्ने बेला भएको छैन”, भोजराजले भन्नुभयो, “विरुवा बेचेर अलिअलि कमाउँदै छु तर आम्दानी राम्रै हुने देखिएको छ ।” भोजराजले निकट भविष्यमै त्यो क्षेत्रमा २०० रोपनीमा कफीखेती गर्ने योजना बनाउनुभएको छ ।

जिल्लाभरि कफीको सम्भावना

चियाखेती भइरहेको इलाममा भोजराज भने कफीमा प्रशस्त सम्भावना देख्नुहुन्छ । गाउँमा खेती नगरी छाडिएका पाखा÷पखेरामा पनि मौसम मिले कफीखेती गर्न भोजराजको सुझाव छ । कफीमै भविष्य देख्नुभएका भोजराजले आउँदो वर्ष इलामको माङ्सेबुङ गाउँपालिकामा पनि खेतीको योजना बनाउनुभएको छ । आफूले गरेको कफीबाट प्ररेणा पाएर अरू क्षेत्रबाट पनि कफीका लागि अनुरोध आउन थालेको भोजराज बताउनुहुन्छ ।

“इलाममा चियाबाट भन्दा कफीबाट बढी फाइदा लिन सकिन्छ”, भोजराज भन्नुहुन्छ, “कफीको राष्ट्रिय माग पूरा गर्न पनि कफी लगाउनुपर्छ ।” भोजराजका अनुसार अहिले नेपालका पूर्वी पहाडी क्षेत्रमा स्थानीय कफी भन्दै भारतीय कफी बेच्ने गरेकाले त्यसको दुरुत्साहनका लागि पनि खेती गर्नुपर्ने देखिन्छ । एउटा कफी क्याफेमा नै मासिक १० किलो चेरी (कफीको बोक्रा पेलेर फ्याकेपछिको भित्री भाग) लिने गरेकाले स्थानीयस्तरमै बजार राम्रो रहेको भोजराज बताउनुहुन्छ ।

अनुदानभन्दा कृषि ऋणलाई प्राथमिकता

दिँदा उचित पछिल्लो समय सरकारले व्यावसायिक कृषि उद्यम गर्नेलाई प्रेरणा र सहयोगका लागि अनुदान वितरण गर्दै आएको छ तर कफी किसान भोजराज भने अनुदान पहुँचवाला र नेतृत्व निकटलाई दिइने भएकाले कृषि ऋणमा प्राथमिकता दिनु उचित देख्नुहुन्छ । साना अनुदान किसानले पाए पनि ठूला अनुदानमा भने वास्तविक किसानका हात नपर्ने गरेको भोजराजको भनाइ छ ।

इलाम पनि यो समस्याबाट अछुतो नरहेको भन्दै भोजराज किसानलाई प्रोत्साहनस्वरुप ऋण दिन अनुरोध गर्नुहुन्छ । “यसै वर्ष पनि मैले रु दुई लाख अनुदान पाएँ तर ठूलो अनुदान किसानले पाउँदैनन्”, भोजराज भन्नुहुन्छ । पछिल्लो समय स्थानीय सरकारले कृषिमा उत्प्रेरणाका कार्यक्रम ल्याएकाले कृषिमा प्रोत्साहन भएको भोजराज बताउनुहुन्छ । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर युवालाई किसान र उद्यमी बनाए स्वरोजगार बन्न सकिने भोजराजको भनाइ छ ।

उत्पादनमा इलाम प्रदेशकै उत्कृष्ट

पछिल्लो समय कफीमा किसान जागरुक हुन थालेपछि कफीमा समेत इलाम उत्कृष्ट बन्दै आएको छ । खेती प्रणाली मिलेको, स्थानीय सरकार र कफी बोर्डबाट बिरुवासमेत उपलब्ध हुन थालेपछि किसान कफीको व्यावसायिक खेतीमा लागेका हुन् । एक सर्वेक्षणअनुसार इलाम कफी उत्पादनमा प्रदेश नं १ कै उत्कृष्ट जिल्ला हो । प्रदेश नं १ को ३४ दशमलव सात हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेकामा १० दशमलव तीन प्रतिशत हेक्टर क्षेत्रफलमा भने इलाममै खेती हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology