• Tuesday 28th of July 2026

अमेरिकी प्रथम महिला मेलानीयाद्वारा कोरोना सङ्क्रमितप्रति सहानुभूति व्यक्त


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, १० भदौ (रासस-एपी) : अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ । कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उहाँले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गर्नुभयो । कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उहाँले बताउनुभयो ।

श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिनुभएको थियो । ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उहाँको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बस्नु भएको थियो । कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology