• Saturday 25th of July 2026

सन्दिप आवद्ध जमैका सिपिएलको सेमिफाइनलमा


  • गोकर्णेश्वर अनलाइन

नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दिपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा दुबै टोलीले एक एक अङ्क बाँड्न बाध्य भए ।

तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौँथो स्थानमा छ । लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्सले १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ ।

लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अङ्क जोडेको छ । साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology