देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि उहाँले भिडियोबाटै सोह्र श्राद्ध गर्नुभएको हो । पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको जोखिम भएकाले भिडियो प्रविधिको प्रयोग गरी श्राद्ध सम्पन्न गरेको सुवेदीले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका–११ चितवनमा पितृको श्राद्ध गर्नुभएको हो ।
यसअघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आउनुभएका सुवेदीले घरमै बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन् सजिलो भएको बताउनुभयो । “अहिले पण्डितलाई घरमै बोलाउने अवस्था पनि रहेन, प्रविधिको प्रयोग गरेर श्राद्ध गर्ने काम गरेँ”, उहाँले भन्नुभयो, “यसले गर्दा समय पनि चाँडै सकिने र अन्य झन्झट पनि नहुने ।”
