• Saturday 25th of July 2026

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा


  • गोकर्णेश्वर अनलाइन

बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि फार्म सञ्चालन गर्नुभएको हो । रु ५२ लाख लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उहाँले कालिका कृषि फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथलगायत स्थानीय जातका एक हजारभन्दा बढी कुखुरा पालिएका छन् । फार्मबाट ४०० बढी कुखुरा बिक्री भएका छन् । कुखुरासँगै फार्ममा कालिज, बट्टाई, लौकाट, चाइनिज बतख टर्की पनि पालिएका छन् ।

स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै खपत हुन थालेको बताइएको छ । रु ५०० का दरले जिउँदो कुखुरा बिक्री हुने गरेको छ । स्थानीय जातका कुखुराको माग अधिक भएकाले कुखुरापालनमा संलग्न भएको फार्म सञ्चालक ऐरले बताउनुभयो । दुई जना कामदारसँगै ऐर दिनभरि कुखुराको हेरचाहमा संलग्न रहनुहुन्छ । कुखुरालाई चारो खुवाउने, अण्डा सङ्कलन गर्ने, फार्मको सरसफाइ गर्ने र कुखुरालगायत बेच्ने कार्यमा उहाँ लाग्नुहुन्छ । बन्दाबन्दीकैबीच ठूलो रकम लगानी गरी फार्म सञ्चालन गरेका छौँ”, ऐरले भन्नुभयो, “स्थानीय जातका कुखुरा उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन चाहन्छौँ ।”

उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुराको अधिक माग छ । तर जोखिम पनि उत्तिकै छ ।” बैंककै रोजगारीका सिलसिलमा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुँदा कुखुरापालन र कृषि कार्यसम्बन्धी अनुभव लिएकाले कृषि फार्म सञ्चालन गर्न सहज भएको उहाँले बताउनुभयो । स्थानीय जातका कुखुराका चल्लासँगै बट्टाइका चल्ला उत्पादनको कार्यसमेत फार्ममा हुने गरेको छ । फार्म सञ्चालक ऐरले मेसिनको व्यवस्था गरी ह्याचरीसमेत सञ्चालन गरेका छन् । फार्मलाई आवश्यकपर्ने र बाह्य क्षेत्रबाट माग भईआएका आधारमा उहाँले ह्याचरीमा चल्ला उत्पादनको कार्यसमेत शुरु गर्नुभएको छ । हालसम्म सात हजार कुखुराका चल्ला बिक्री भएका छन् ।

स्थानीय जातका कुखुराका चल्ला रु ११०, ककड नाथका चल्ला रु १६५ र बट्टाइका चल्ला रु ५५ मा बिक्री हुँदै आएको छ । फार्ममा रहका दुई वटा पोखरीमा २० हजार विभिन्न प्रजातिका माछाका भुरा हालेर माछापालनको कार्यसमेत शुरु गरिएको छ । खोर सुधारमा रु दुई लाख र पोखरी निर्माणमा रु ९२ हजार रकम अनुदानका रुपमा ऐरले पाउनुभएको छ । “फार्ममा माछा, कुखुरा र अन्य प्रजातिका पक्षीपालनसँगै होटेल, स्वीमिङ पुलको व्यवस्था गरी एग्रो टुरिजमका लागि कार्य अगाडि बढाउने योजना छ”, फार्म सञ्चालक ऐरले भन्नुभयो, “आफ्नै लगानीले भ्याउन नसकिने भएकाले सरकारले यसका लागि अनुदान रकमको व्यवस्था गरिदिए व्यवसायलाई अगाडि बढाउन सहज हुन्थ्यो ।”

उहाँले भन्नुभयो, “प्रदेश सरकारले एग्रो टुरिजमलाई बढावा दिने नीति लिएको छ । यसका लागि लगानीको वातावरणसँगै लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि अनुदान र सहुलियतका कार्यक्रम अगाडि ल्याइनुपर्छ ।” व्यवसाय गर्दै आएका र गर्न चाहने व्यवसायीको मनोबल उच्च राख्नसके मात्रै व्यवसाय फस्टाउन सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology