• Sunday 2nd of August 2026

मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही गरिने


  • गोकर्णेश्वर अनलाइन

कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो । थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य सङ्ख्या, विगतमा रासायनिक मलको कारोवारको अवस्था र सम्बन्धित स्थानीय तहमा अनुमति लिएका सहकारीलाई मध्यनजर गरी मलको सिफारिस गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।

सहकारी संस्थालाई उपलब्ध गराइएको मलको परिमाणलाई थप पारदर्शी ढङ्गले बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन गरेको उहाँले बताउनुभयो । यस्तै स्थानीय निकायसँग समन्वय गरी कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नसमेत ज्ञान केन्द्रले अनुरोध गरेको छ । अहिले धान पसाउन शुरु गरेका हुनाले अबको १५ दिन धान बालीका लागि संवेदनशील समय भएको उल्लेख गर्दै उचित मलजल हुन नसकेमा उत्पादनमा ह्रास आउनसक्नेतर्फ ज्ञान केन्द्रले सचेत गराएको छ । प्रमुख ढकालले सहकारी र कृषक समूहलाई धान बालीलाई प्राथमिकतामा राखेर मल वितरण मिलाउनसमेत अनुरोध गरिएको बताउनुभयो । कसैले कालोबजारी गरेको थाहा पाए जानकारी उपलब्ध गराउनसमेत ज्ञान केन्द्रले अनुरोध गरेको छ ।

चितवनमा हालसम्म ४२६ मेट्रिक टन मल वितरण भइसकेको छ । नेपाल सरकारले उपलब्ध गराउने कोटामध्य कृषि सामग्री कम्पनीबाट आठ हजार मेट्रिक टन र साल्ट्र ट्रेडिङबाट ८०० मेट्रिक टन वितरण हुने गरेको छ । वितरण हुन बाँकी मलसमेत केही दिनमा आउने र वितरणमा पनि सहजता हुने ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । सरकारले उपलब्ध गराएको मल न्यायोचित ढङ्गले वितरण गर्न ज्ञान केन्द्रले अनुरोध गरेको छ । मागअनुसारको आपूर्ति हुन नसक्दा देशभर नै मलको चरम अभाव छ ।

चितवनमा वार्षिक १० हजार मेट्रिक टन मलको माग हुने गर्दछ । सबैभन्दा धेरै धान बालीका लागि मल चाहिने गरेको छ । साउन महिनामा मात्रै साल्ट्र ट्रेडिङ कार्पोरेशन लिमिटेडले ४२६ मेट्रिक टन युरिया मल बिक्री गरिसकेको छ भने कृषि सामग्री कम्पनीले युरियाबाहेकका मल बिक्री वितरण गरेको छ । चितवनमा रासायनिक मलको बिक्री वितरणका लागि अनुमति लिएका १०३ वटा सहकारीले ज्ञान केन्द्र चितवनको सिफारिसमा अनुदानको रासायनिक मल वितरण गर्दै आएका छन् ।

मलको दुरुपयोग नगर्न संघको अपिल

जिल्ला सहकारी सङ्घ चितवनले सरकारले अनुदानमा वितरण गरेको रासायनिक मलको दुरुपयोग नगर्न अपिल गरेको छ । सङ्घका अध्यक्ष हरिप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा वितरण गरिएको मलको दुरुपयोग गरी उच्चतम मूल्यमा बिक्री वितरण गर्दै आइरहेको गुनासो आएकाले यस्ता अनुचित कार्य नगर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभएको छ । कसैले अधिकारको दुरुपयोग गरी अनुचित ढङ्गले कारोवार गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला सहकारी सङ्घमा जानकारी गराइदिन पनि सम्पूर्ण उपभोक्ता एवं सर्वसाधारणमा अनुरोध गरिएको छ ।

कोरोनाका कारण सबै क्षेत्रजस्तै कृषि क्षेत्र पनि मर्कामा परेको भन्दै मल अभावले कृषकमा तनाव सिर्जना भएको सङ्घको विज्ञप्तिमा उल्लेख छ । राज्यले उपलब्ध गराएको सीमित मललाई जिल्लास्तरमा संयन्त्र निर्माण गरी वितरण भइरहेको सङ्घले जनाएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । जिल्लामा मागअनुसारको मल उपलब्ध हुन नसक्दा कोरोना महामारीका बीच किसान भिडभाड गर्दै लाइनमा बसेर मल लिन बाध्य छन् । किन्नेले चाहे जति मल पनि पाउन सकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology