• Saturday 25th of July 2026

बन्दाबन्दीसँगै मल अभावको दोहोरो समस्यामा केराखेती


  • गोकर्णेश्वर अनलाइन

झापामा व्यावसायिक केराखेती गर्दै आएका किसानहरु बन्दाबन्दीसँगै मल अभावको दोहारो समस्यामा परेका छन् । सरकारले स्थानीय सहकारी संस्थाहरुमार्फत पछिल्लो समय मलको व्यवस्था गरे पनि केराखेती गर्दै आएका किसानले मल पाएका छैनन् । गोडमेल गर्ने अहिलेको मौसममा रासायनिक मल प्रयोग गर्न नपाउँदा केराका बोट कुहिने र फल नलाग्ने समस्या देखा परिसकेको छ । विगत चार वर्षदेखि व्यावसायिकरूपमा कनकाई नगरपालिकाको वडा नं. ४, ५ र ६, झापा गाउँपालिकाको वडा नं. ५ र बाह्रदशी गाउँपालिकाको वडा नं. ७ मा १५० बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आउनुभएका दुर्गामाता कोलाखेती कृषि फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले मल अभावमा केराखेती धरासायी भएको बताउनुभयो ।

“एकातिर बजारको समस्या अर्कोतिर मलको”, उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण लाखौँ नोक्सान हुने भयो ।” उहाँले केरालाई असारदेखि भदौ महिनासम्ममा गोडमेल गरेर युरिया, डिपो र पोटासलगायतको मल लगाइसक्नुपर्ने बनाउनुभयो । विसं २०७४ सालमा १२ बिघा जमिन भाडामा लिएर शुरु गरिएको केराखेती विस्तार अहिले ३४ जना किसानको १५० बिघा जमिनमा छ । मालभोग, चिनीचम्पा, लालकेरालगायतका जातको खेतीबाट गत वर्ष रु एक करोड आम्दानी भएको थियो । यहाँ उत्पादन गरिएको केरा काठमाडौँका व्यापारीलाई बोटबाटै गतवर्ष प्रतिकोसा रु पाँचमा विक्री गरिएको बताउँदै उहाँले भन्नुभयो, “बन्दाबन्दीले काठमाडौँका व्यापारी आउन पाएनन् स्थानीय व्यापारीले प्रतिकोसा रु तीनभन्दा बढी दिँदैनन् ।

नाफा त के खर्च पनि नधान्ने अवस्था भयो ।” बेलैमा गोडमेल गरेर मल हाल्न नसक्दा गाना कुहिएर केराको बोट मर्न थालेको उहाँको भनाइ छ । एक सय ५० बिघा जमिनमध्ये ७० बिघाको केराखेतीले मात्र फल दिइरहेको उहाँले बताउनुभयो । बाँकी जमिनमा हुर्किरहेका बिरुवा फल नदिँदै मर्न थालेका छन् । उहाँले हालसम्म कृषि ज्ञान केन्द्र झापाबाट खेती प्रवद्र्धनका लागि रु २७ लाख अनुदान पाएको जानकारी दिनुभयो । प्रदेश नम्बर १ का कृषि राज्यमन्त्री रामबहादुर राना मगर, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहलगायतले केराखेतीको अवलोकन गरी मल उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

यो पनि हेर्नुहोस :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology