• Saturday 25th of July 2026

पहिलो पटक धानको हाइब्रिड बीउ उत्पादन


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको खजुरा गाउँपालिकामा पहिलो पटक हाइब्रिड धानको बीउ उत्पादन शुरु गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ खजुराका अनुसार हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु यो वर्ष भएको छ । यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकबाट हुँदै आएको आयात अन्त्य हुनेछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समय अगाडि नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएका बिउ राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको थियो ।

लामो समयको परीक्षणपछि हाइब्रिड धानमा पाएको सफलतासँगै देशका विभिन्न स्थानमा कृषि अनुसन्धान निर्देशनालयले बीउ उत्पादन शुरु गरेको छ । यी दुवै धान तराई, मधेशका साथै समुद्र सतहदेखि ७०० देखि ९०० मिटर उचाइसम्मका लागि सिफारिस गरिएको छ । १२२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर सात÷पाँच टन उत्पादन क्षमता रहेको छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले जनाएको छ । स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण नेपालका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको थियो । गुणस्तर परीक्षण विना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए । पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुनेछ ।

कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ बाँके खजुराका अनुसार खजुरामा यी दुवै हाइब्रिड धान दुई हेक्टर जमीनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरिएको छ । पछिल्लो समय भारतीय हाइब्रिड धानको बीउप्रति कृषक आकर्षित भइरहँदा नक्कली बीउमा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरेको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले जनकारी दिनुभयो । “उत्पादन सफल भए अब हाइब्रिड धान नेपालमै पाइनेछ”, उहाँले भन्नुभयो, “बीउ नपाएर विभिन्न देशबाट आउने गुणस्तरहीन बीउबाट ठगिनुपर्ने छैन ।” निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरी जातीय प्रदर्शनीबाट कृषकले लगाएको बीउको उत्पादनका बारेमा अनुमान गर्न सकिने बताउनुहुन्छ । उहाँल यो बीउ नमूना बीउ बनेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology