• Sunday 2nd of August 2026

गोर्खाली कुकुरले मारे चितुवा


  • गोकर्णेश्वर अनलाइन

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखा तर्फको आरुघाट बजारबाट धादिङ तर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो ।

“घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभँुडीसमेत निस्किएको अवस्थामा फेला परेको छ”, उहाँले भन्नुभयो, “चितुवालाई आक्रमण गर्ने दुईवटा कुकुर गम्भीरसमेत घाइते भएका रहेछन् ।” जङ्गल नजीकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुनसक्ने सहायक वन अघिकृत नेपालीले जानकारी दिनुभयो ।

चारवटा वयस्क कुकुरहरु मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासीले राति नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितुवा मरेको देखेर वन कार्यालयमा जानकारी गराएका थिए । वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय ध्याम्पेसालमा परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीले जानकारी दिनुभयो ।

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology