• Sunday 2nd of August 2026

मुस्ताङको आलुको बजार पोखरा


  • गोकर्णेश्वर अनलाइन

मुस्ताङ घरपझोङ–२ महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि भन्ने चिन्तामा रहनुभएका लालचन यतिबेला भने निकै खुशी हुनुहुन्छ । उहाँले उत्पादन गरेको करिब १५ मुरी आलु राम्रो मूल्यसहित पोखरा आइपुगेको छ । लालचनजस्तै अन्य किसान पनि उत्पादित आलु पोखरा पुगेसँगै उत्साहित बनेका छन् । “खुशी छु, राम्रो मूल्य पनि प¥यो, आलु बिक्दैन कि भन्ने चिन्ता पनि हट्यो, सबै किसानको एउटै चिन्ता थियो, कोरोनाका कारण मुस्ताङमा पर्यटक छैनन्, आलु कसरी खपत होला भन्ने, तर आलु सोचेभन्दा राम्रो बिक्री भयो खुशी छौँ”, थासाङ गाउँपालिका–५ का मुस्ताङ आलु उत्पादन तथा व्यवसाय प्रवद्र्धनका प्रोपाइटर तेजेन्द्र गौचनले भन्नुभयो ।

उहाँका अनुसार अघिल्लो वर्ष रु १३० देखि १४० पाथीको आलु बेचेकामा अहिले रु १५० देखि १६० सम्ममा बिक्री गरिएको छ । मुस्ताङको आलुलाई पोखरासम्म ल्याउनका लागि श्री ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठान सौरु, मुस्ताङका अध्यक्ष सवि शेरचन गौचनले समन्वय गरेर किसानबाट सोझै उपभोक्तासम्म आलु ल्याउने व्यवस्थापन गरेसँगै किसान लाभान्वित भएका हुन् । “केही समयअघि मुस्ताङ पुग्दा आलु उत्पादन गरेका किसान आलु बिक्री हुँदैन कि भनेर चिन्तित हुनुुहुन्थ्योे, उहाँहरुको मेहनत, लगानी र पोखरामा मुस्ताङको आलुको मागलाई ध्यान दिएर आलु पोखरा ल्याउने पहल गरेँ, राम्रो मूल्य पाएर किसान खुशी छन्”, गौचनले भन्नुभयो । पोखरा महानगरपालिका–१० अमरसिंहमा रहेको आजीवन कृषि सहकारी लिमिटेडले सञ्चालन गरेको आजीवन कृषि उपज केन्द्रमा मुस्ताङको पाँच हजार किलो आलु ल्याएर प्रतिकेजी रु ८५ मा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले मुस्ताङको स्याउजस्तै आलु पनि ब्राण्ड बन्दै गएको बताउनुभयो । “अहिले मुस्ताङको आलुले राम्रो बजार लिन थालेको छ, कोभिड–१९ को असरले पर्यटकविहीन बनेको मुस्ताङको उत्पादित आलु स्याउजस्तै ब्राण्ड बन्दै जाँदा यहाँका किसान खुशी भएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार ताग्लुङ, लुप्रा, तिरी, फल्याक, पाक्लिङ, झोङलगायतका ठाउँमा आलु मिठो मानिन्छ । किसानले पनि सोचेजस्तै मूल्य पाएकाले खुशी भएको उहाँको भनाइ छ । आजीवन कृषि सहकारी सचिव राजेन्द्र पौडेलले मुस्ताङको आलु आएको भनेर सामाजिक सञ्जालमा राख्नेबित्तिकै उपभोक्ता आलु खरिदका लागि आएको बताउनुभयो ।

“यस संस्थाका सहसचिव सबि शेरचनको समन्वयमा पाँच हजार ४०० किलो आलु केन्द्रमा आएको थियो, सामजिक सञ्जालमा राखेसँगै उपभोक्ता आउन थाले, अहिले ८५ प्रतिशत बिक्री भइसकेको छ”, पौडेलले भन्नुभयो । उहाँले सहकारीका सदस्यले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापनका लागि बिक्री केन्द्र स्थापना गरेको र योसँगै स्थानीय र स्वदेशी उत्पादनलाई पनि प्रोत्साहन गर्ने गरेको बताउनुभयो । उक्त बिक्री केन्द्र पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु १० लाख बजेट विनियोजन गरेर निर्माण गरिएको हो । सहकारीमा हाल १२० सदस्य छन् ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology