• Monday 3rd of August 2026

बन्दाबन्दीको सदुपयोग : समाधानले बनाए ह्याचरी मेसिन


  • गोकर्णेश्वर अनलाइन

बन्दाबन्दीका कारण धेरैले समय बिताउन सकस भएको गुनासो गर्दै लामो समय व्यतित गरे । यस अवधिमा धेरैको रोजगारी गुम्यो पनि । अध्ययन, पेशा, व्यवसाय सबैजसो क्षेत्र ठप्प प्रायः बन्यो । बागलुङका एक युवाले बन्दाबन्दीको समय सदुपयोग गरी अण्डाबाट चल्ला कोरल्ने ह्याचरी मेसिन बनाएका छन् । यस मेसिनले अहिले अण्डाबाट चल्ला उत्पादन भइरहेको छ । बन्दाबन्दीको समयमा परीक्षणस्वरुप गरिएकामा अहिले सफलता मिलिरहेको छ । बागलुङ नगरपालिका–३ सिम्लेका २३ वर्षीय समाधान शर्माले तीन महिनाको अथक प्रयासपछि अण्डाबाट चल्ला निकाल्ने औजार निर्माण गरेका छन् । विद्युत्बाट चल्ने सो औजारबाट ह्याचिङ गरेका कुखुराका चल्ला उत्पादन भइरहेका छन् ।

पूर्वाञ्चल इञ्जिनियर क्याम्पसको आठौं सेमेस्टरमा कम्प्युटर इन्जिनीयर अध्ययन गरिरहनुभएका शर्माले कोरोनाका कारण चल्ला आयात हुने अवस्था नरहेपछि घरमै पुराना उपकरण जडान गरी ह्याचरी मेसिन बनाउनुभएको हो । उहाँले बनाएको औजारले चार पटकसम्म सफलतापूर्वक अण्डाबाट चल्ला उत्पादन भइसकेको छ । शुरुमा परीक्षणका रुपमा निर्माण गरिएको औजारले सफलता पाएपछि अब यसको व्यावसायिक उत्पादन गर्ने उहाँको सोच रहेको छ । समाधानका बुबा बद्रीप्रसाद शर्मा र ठूलो बुबा नारायण शर्माको गैँडाकोटस्थित कृषि गाउँ छेउमा ठूलो कृषि फर्म सञ्चालनमा छ । यस नारायण कृषि फर्ममा माछा र कुखुरापालन गर्ने गरिएको छ ।

बन्दाबन्दीका कारण पढाइ रोकिएर घरमा आउनुभएका शर्माले फर्ममा चल्लाको अभावमा कुखुरापालनमा समस्या भएपछि अध्ययन तथा अनुसन्धान गरी पुराना उपकरण जडान गरेर ह्याचरी मेसिन निर्माण गरेको बताउनुभयो । पहिलो औजारले अण्डाबाट चल्ला उत्पादन गर्न थालेपछि आधुनिक उपकरण जडान गरी थप औजारहरु बनाएको शर्माको भनाइ छ । “बन्दाबन्दीका कारण घरमा आएको समयमा बाबाको फर्ममा सहयोग गर्दै आएको थिएँ, फर्ममा कोरोनाका कारण चल्ला आयात नहुँदा कुखुरा पाल्न समस्या भएको थियो” समाधानले भन्नुभयो “सम्बन्धित विषयको अध्ययन समेत भएकाले मलाई फर्ममै चल्ला उत्पादन गर्न सकिन्छ कि भन्ने विषयमा सोचेँ, अध्ययन तथा अनुसन्धानपछि पुराना उपकरण जोडजाम गरी काठको फ्रेममा ह्याचरी औजार बनाएको हँु ।”

शर्माले हालसम्म चारवटा ह्याचरी मेसिन बनाइसक्नुभएको छ । उहाँको फर्ममा दुईवटा औजारले चल्ला उत्पादन दिइराखेको छ भने दुई औजार बिक्रीका लागि तयार गरिएको छ । उहाँहरुको आफ्नै फर्निचर उद्योगसमेत रहेकाले व्यावसायिक रुपमै ह्याचरी औजार उत्पादन गर्ने शर्माका बुबा बद्रिप्रसादले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “चल्ला आयात नभएपछि कुखुरापालन व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । छोराले औजार आविस्कार गरेपछि कुखुरापालन व्यवसायले निरन्तरता पाएको छ ।” शर्माले निर्माण गरिएको ह्याचरी औजारमा काठको फ्रेम, विद्युत् कन्टोलर, हिटर, इन्सुलेसन, आल्मुनियम, लबडको ट्युबर र अण्डा घुमाउने टर्नर जडान गरिएको छ । शर्माले आविस्कार गरेको औजारमा एक पटकमा ९०० चल्ला उत्पादन गर्न सकिनेछ ।

अण्डाबाट चल्ला उत्पादन हुनका लागि चराका प्रजातिअनुसार फरक फरक समय लाग्ने नारायण कृषि फर्मका सञ्चालक नारायण शर्माले जानकारी दिनुभयो । शर्माले १५ वर्षदेखि व्यावसायिक कृषि पेशा अँगाल्दै आउनुभएको छ । अब फर्ममा बाहिरबाट चल्ला आयत गर्नुपर्ने बाध्यता हटेर गएको छ भने अन्य किसानले समेत सस्तो मूल्यमा सो औजार खरीद गरेर लैजान सक्नेछन् । यस औजारलाई रु ८० हजारमा बिक्री गर्ने शर्माको योजना छ । शर्माले तीन महिनामा तयार गरेको पहिलो ह्याचरी औजारले गत असार १ गतेदेखि चल्ला उत्पादन गर्न शुरु गरेको छ । विद्युत्बाट सञ्चालन हुने ह्याचरीले स्थानीय प्रजातिका कुखुरा, बोइलर, हाँस, गिरिराज कुखुरा, बट्टाई, लौकाट र टर्कीका अण्डाबाट चल्ला उत्पादन गर्दै आएको छ । सो औजारले कुखुराको २१ दिनमा अण्डा कोरलेर चल्ला पार्ने गरेको छ भने अन्य प्रजातिका चरामा कोरल्ने दिन ढिलोचाडो हुने शर्मा बताउनुहुन्छ ।

यो पानो हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology