• Saturday 25th of July 2026

भैँसी पाल्दै नामसँगै दाम कमाउँदै


  • गोकर्णेश्वर अनलाइन

जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भैँसीपालक किसानका रुपमा परिचित छन् । भैँसीपालन व्यावसाय शुरु गरेका उहाँले अहिले नामसँगै दाम कमाउँदै आएका छन् । व्यावसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका उहाँसँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । उहाँले २०५२ सालदेखि एक भैँसीबाट व्यावसाय शुरु गर्नुभएको थियो । यसपछि २०६३ पछि व्यावसायिक रुपमा भैँसीपालन शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिला एक मात्रै भैँसी थियो ।

०६३ साल दुईदेखि चार भैँसी पाल्न शुरु गरेँ । झिसमिसे उज्यालो नहुँदै मोटरसाइकलमा सदरमुकामका डेरी र होटलमा दुध पु-याउने मेरो दैनिकी बनेको छ ।” उहाँसँग अहिले १५ भैँसी रहेका छन् । उहाँले भन्नुभयो,“व्यावसायिक भैँसी पालक रुपमा आफ्नो कर्म र भविष्य सम्झेर दिनरात नभनी व्यावसायमा खटिरहेको छु ।” धन कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच र मानसिकता भएका व्यक्तिलाई किसान धितालले गतिलो सन्देश दिँदै आएका छन् । सीप, जाँगर र परिश्रम गर्न सके स्वदेशमै बसेर पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण सहित प्रस्तुत भएका उहाँले बताउनुभयो ।

वार्षिक ७ लाख बढी आम्दानी

दुध बेचेरै वार्षिक ७ लाख भन्दा बढी आम्दानी हुनेगरेको उहाँले जानकारी दिनुभयो । दैनिक ५० देखि ६० लिटर दुध खलङ्गा बजारमा प्रति लिटर एक सय बिक्री हुनेगरेको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नभयो, “विहान ५ नबज्दै सदरमुकाम पुगी डेरी र होटलमा दुध पु-याउँछु । यो वर्ष कोरोना भाइरसका कारण उत्पादित सबै दुध बजारमा नजाँदा करिब ३ लाख घाटा भयो । ” उहाँले दुध बेचेकै आम्दानीबाट घरपरिवार सञ्चालन तथा दुई छोरीको पढाइ खर्च पु¥याउँदै आउनुभएको छ । भैँसीका लागि आधुनिक गोठ, मलमुत्र जाने, ट्याङ्की, दाना खुवाउने भाडा, भैँसी नुहाउने ठाउँ, घास भण्डार केन्द्र लगायतका पूर्वाधार निर्माणलागि १८ लाख अनुदान भैँसीपालक धिताललाई प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताउनुभयो । धितालले व्यावसायिक रूपमा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न थालेपछि यसक्षेत्रका अन्य कृषकसमेत आकर्षित हुँदै व्यावसायिक पशुपालन तर्फ लाग्न थालेका छन् ।

यो पनि हेर्नुहोस:

घरको खोजीमा आमा छोरी

बेवारिसे अवस्थामा उद्धार गरिएकी जुम्ला सिंजाकी एक महिलाको मानसिक समस्या तथा स्वास्थ्य निको भएपछि उनीहरुका लागि घरको खोजी गरिएको छ । सामाजिक विकास मन्त्रालय सुुुुुर्खेत र मानव सेवा आश्रमले उद्धार गरेर एक बर्षदेखि संरक्षणमा रहेकी महिलाको स्वास्थ्य अवस्था ठिक भएपछि घर जान खोजिरहेकी महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो ।

उडान सुरु

समिट एयरले माथिल्लो कर्णालीका चार जिल्लामा नियमित उडान शुरु गरेको छ । कोरोना महामारीका कारण ६ महिनादेखि रोकिएको उडान सोमबारदेखि नियमित भएको हो । सरकारले आन्तरिक हवाई खोल्ने निर्णय गरेसँगै कर्णालीमा पहिलो उडान गर्नेमा समिट एयर परेको छ । दुर्गमका नागरिकको समस्यालाई मध्यनजर गर्दै सोमबारदेखि हुम्ला, डोल्पा, मुगु र जुम्लामा दैनिक एक नियमित उडान भर्ने समिट एयर नेपालगञ्ज स्टेशनका प्रमुख सरोज उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“माथिल्लो कर्णालीलाई प्रथामिकता दिएर उडान गर्ने तयारी छ । विगतको जस्तो यात्रुको चाप छैन । लकडाउन खोल्नुअघि अधिकांश चार्टर फ्लाइटबाट आफ्नो गन्तव्यमा पुगेका छन् भने हजारौँ नागरिकलाई पालिकाले नै गाडीमा घरमा लगिदिएको छ । यसले गर्दा अहिले जहाज चड्ने यात्रु थोरै छन ।” चाडपर्व नजिकिँदै गएकाले थोरै भए पनि नियमित उडान गरेर नागरिकलाई सेवा दिइने उहाँले जानकारी दिनुभयो ।

किसानलाई कोदो टिप्न चटारो

जुम्लाका किसानलाई यतिबेला कोदो टिप्न भ्याइनभ्याइ भएको छ । गत बैशाखमा छरेको कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको हो । तिला गाउँपालिका – १ का स्थानीयवासी माने बढाका अनुसार कोदो पाकेपछि यहाँका किसानलाई टिप्ने चटारो भएको र समयमै बर्षा भएपछि विगतमा भन्दा यसवर्ष कोदोको उत्पादन बढेकोे बताउनुभयो । उहाँले भन्नुभयो,“कोदो जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने गरेको छ ।”

कोरोना भाइरस तथा निषेधाज्ञाले छ महिनासम्म घर भित्र बसेका स्थानीयवासी कामको समय आएसँगै किसानले उत्पादन गरेको अन्यबालि पाकेपछि घरमा थन्क्याउन जिल्लाका किसानलाई भ्याइनभ्याइ भएको बुढाले बताउनुभयो । मुख्य बालीभित्र पर्ने कोदो टिप्नका लागि किसानलाई बिहानबाट बेलुकासम्म भ्याइनभ्याइ छ । यो वर्ष उत्पादनमा समेत बृद्धि हुने किसानहरुले बताएका छन् । कोदोमा कुनै रोग किरा नलाग्नु र बेला बेलामा पानी परिरहेको कारण कोदो राम्रो उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology