• Monday 3rd of August 2026

देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु


  • गोकर्णेश्वर अनलाइन

लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम शुरु गरेका छन् । अन्य जापानी प्राविधिक नहुँदा आयोजनाको काममा समस्या भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा निर्माणाधीन आयोजनाको काम आगामी दशैँपछि भने पूर्ण क्षमतामा शुरु हुने जनाइएको छ । यही अक्टोबर २ तारिखमा जापानिज प्राविधिक आउने निश्चित भएपछि नेपाली र जापानी मजदूर तथा प्राविधिकहरुबाट आयोजनाको काम बन्दाबन्दीअघिकै गतिमा अघि बढ्ने भएको हो ।

परराष्ट्र मन्त्रालय तथा खानेपानी संस्थानबाट सहजीकरणपछि आयोजनाको जिम्मा लिएको जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’का मुख्य आठजना प्राविधिक आउने निश्चित भएको र नेपाल आएपछि क्वारेन्टिन लगायतका मापदण्ड पालना गर्नुपर्ने भएकाले दशैँपछि पूर्ण क्षमतामा काम शुरु हुने खानेपानी संस्थानका इन्जिनीयर सन्तोषकुमार दासले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले पाँच महिना आयोजनाको काम पूूरै रोकिएकामा भदौबाट इमर्जेन्सी मेन्टिनेन्सको काम नेपाली कामदारबाट भइरहेको छ । निर्माण व्यवसायीका प्राविधिक केही दिनमै आउने निश्चित भएकाले अब दशैँपछि आयोजनाको काम पूर्ण क्षमतामा अघि बढ्छ ।” सन् २०२१ अगस्त ११ भित्रमा आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता रहे पनि हालसम्म २५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । हालसम्म ५६ प्रतिशत प्रगति हुनुपर्नेमा बन्दाबन्दीले लक्ष्य पूरा गर्न चुनौती थपिएको बताइएको ।

खानेपानी सुधार आयोजनाअन्तर्गत हाल पोखरामा अप्रशोधित पानी वितरण भइरहेकामा मर्दी खोलाको पानी प्रशोधन गर्ने तथा वितरण लाइनको सुधार गर्ने योजना छ । सो आयोजना सम्पन्न भएपछि यसले समेटेको क्षेत्रमा चौबिसै घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । जाइकाको अनुदान सहयोग तथा खानेपानी संस्थानले अघि बढाएको आयोजनाको विसं २०७६ जेठमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले शिलान्यास गर्नुभएको थियो । संस्थानले आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरी काम अघि बढाएकामा जापानिज कम्पनीसँग निर्माण सम्झौता गरिएको थियो । पोखरावासीले पिउने पानीको प्रमुख स्रोत रहेको मर्दी खोलाको पानी शुद्धीकरणका लागि मुहान नजीक ग्रिड चेम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेसन ट्याङकी (ढुङ्गा, बालुवा हटाउने पोखरी) निर्माण भइरहेको छ ।

सेडिमेन्टेसन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लो एन्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चारवटा पानी थिग्र्याउने ट्याङ्की तथा छवटा पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लोस स्यान्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ । स्लोस एन्ड फिल्टरको ६० प्रतिशत काम सम्पन्न भएको बताइन्छ । पोखराको मुख्य बजार क्षेत्रमा प्रशोधित पानी वितरणका लागि तीनवटा ट्याङ्की निर्माण भइरहेका छन् । फूलबारीमा निर्माण भइरहेको ट्याङ्कीको ८० प्रतिशत काम सकिएको छ । त्यसैगरी प्रस्र्याङको पाँच प्रतिशत र कोलपाटनको २० प्रतिशत काम सकिएको इन्जिनीयर दासले जानकारी दिनुभयो ।

पानी वितरणका लागि बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार गर्ने योजना छ । त्यसैगरी संस्थानले सात हजार ३०० धारा जडान गर्नेछ । संस्थानले छुट्टै १४ किमी पाइपलाइन विस्तारको कामसमेत अघि बढाएको छ । समग्रमा आयोजनाको ९० प्रतिशत जापानिज निर्माण कम्पनी र १० प्रतिशत कामको जिम्मा संस्थानको छ । केही स्थानमा पाइपलाइन विस्तार तथा धारा जडानको काम संस्थानको छ । सो कार्यका लागि अघिल्लो वर्ष रु १३ करोड लागतमा बोलपत्र आह्वान गरी काम भइरहेको संस्थालने जनाएको छ । संस्थाले आयोजनमा रु ४० करोड लगानी गर्नेछ । सन् २०१७ को फेब्रुअरी १५ मा सरकार र जाइकाबीच सो आयोजनासम्बन्धी सम्झौता भएको थियो ।

आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण भई आपूर्तिमा सुधार भएर महानगरको १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थानका अनुसार पोखरामा चौबिसै घण्टा सहज पानी आपूर्तिका लागि दैनिक छ करोड ५० लाख लिटर पानी आवश्यक पर्ने गरेकामा हाल चार करोड हाराहारीमा मात्र आपूर्ति हुने गरेको छ । मर्दीखोलाको पानी नै पोखराको मुख्य खानेपानीको स्रोत हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology