• Monday 3rd of August 2026

ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा


  • गोकर्णेश्वर अनलाइन

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्दै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ । ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन गरी पुनःनिर्माण गर्ने मध्यपुरथिमि नगरपालिकाविरुद्ध नै अभियानकर्मीका नाममा सर्वोच्च अदालतमा मुद्दा हाले पनि नगरपालिकाले सम्पदा संरक्षण गरेवापत मुद्दा खेप्नुपरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको भनाइ छ । फल्चा लिने गःहिटी अर्थात् पाटीपछिको धाराको नामले चिनिने यहाँको १०० वर्षभन्दा पुरानो परम्परागत ऐतिहासिक ढुङ्गेधारा पाटी पेप्सीकोला–सानोठिमी सडक २० मिटर चौडामा विस्तारको क्रममा सडकको मापदण्डमा परेको भन्दैै ठेकेदारले मङ्सिर १४ गते भत्काएको थियो ।

सम्पदा भत्काउँदा नगरपालिकालाई जानकारीसमेत नदिई त्यसको पुराना इँटा र सामग्रीसमेत संरक्षण नगरी ठेकेदारले डोजर लगाएर जथाभावीरूपमा पाटी भत्काउनुका साथै ढुङ्गेधारा पुरेको थियो । डेढ वर्ष अगाडि भत्काएको पाटी र धाराको विषयमा पुनःनिर्माणपछि भएको विवादका बारेमा जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “पाटीपछाडि धारा थियो, सडक विस्तारका क्रममा ठेकेदारले डोजर लाएर पाटी भत्कायो, धारा पुरियो, तीन दिनपछि मैले त्यो थाहा पाउनेबित्तिकै गएँ, आफैँ बसेर पुरिएको धारा उत्खनन गराएँ, त्यसपछि स्थानीय उपभोक्ता समिति गठन गरेर परम्परागत शैलीमा धाराको पुनःनिर्माण सकियो, धारापछाडि परम्परागत शैलीमा पार्टी पनि पुनःनिर्माण गरियो तर छाना हाल्ने बेलामा सुनुयोजितरूपमा अभियानकर्मीको नाममा विवाद ल्याए ।” अभियानकर्मी अनिश वैद्यको टोलीले सम्पदा मासिएको भन्दै नगरपालिकाले धारा र पाटी बनाएकोमा विरोध गर्दै आएको छ ।

“ऐतिहासिक सम्पदाको मौलिकता बिगार्न हँुदैन भन्ने हाम्रो मान्यता हो, पुनःनिर्माणको क्रममा सम्पदा सारियो, स्वरुप उल्टो भयो”, वैद्यले भन्नुभयो, “धारा अगाडि फल्चा हुनुपर्छ मौलिकता मेटिनु हुँदैन पुरानै अवस्थामा सारिनुपर्छ भन्ने हाम्रो माग हो ।” नगरपालिकाको कामविरुद्ध गत भदौ २ गते सर्वोच्च अदालतमा मुद्दा हालेको बताउँदै उहाँले नगरप्रमुख श्रेष्ठसँग पुरानै अवस्थामा सार्न पहल गर्दा अटेर गरेको वैद्यले बताउनुभयो । नगरपालिकाका प्रमुख श्रेष्ठले भने पानी आइरहेको ऐतिहासिक ढुङ्गेधारालाई पर सार्दा पानी आउन रोकिन सक्ने भएकाले त्यही ठाउँमा कलात्मक ढुङ्गेधारा बनाएर त्यसको पछाडि पाटी बनाएको बताउनुभयो । ठेकेदारसँग केही व्यक्तिले पाटीलाई अन्यत्रै सारेर प्रतीक्षालय बनाउने सहमति गरेको पाइएपछि त्यही ठाउँमा पाटी बनाउनुपर्छ भनेर आफँै लागेको बताउँदै उहाँले भन्नुभयो, “पार्टीलाई धारा अगाडि बनाउँदा सडकमा पुग्छ, कालोपत्र सडकमा पाटी बनाउने कुरा हँुदैन, यो कुरालाई पनि पक्कै अदालतले मनन गर्ला ।”

ठेकेदारले डोजर लगाएर १०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्पदामा पुर्दा नदेख्ने पुरातत्व विभागले सम्पदा संरक्षण गर्दै पुरानै शैलीमा ढुङ्गेधारा र पार्टी पुनःनिर्माण गर्दा भने रोक लगाउन खोजेको उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “ऐतिहासिक सम्पदा पुर्दा पुरातत्व कहाँ थियो र अहिले रोक्न खोज्छ, आओस् पुरानै ठाउँमा पुरातत्वले बनाओस्, कालोपत्र सडकमा पुरातत्वले पाटी बनाउन सक्छ ? हामी रोक्दैनाँै, तर आफू पनि संरक्षण नगर्ने, स्थानीय सरकारले गर्दा पनि रोक्न खोज्ने, पुरातत्वको यो शैली शङ्कास्पद छ ।” एक वर्ष अगाडिदेखि नै धारा बनेको र डेढ महिना अघिदेखि पाटी बनाउँदा केही नबोल्नेहरु अहिले अभियानकर्मीका नाममा ‘प्रपोगाण्डा’ गर्दै छानो छाउने बेलामा रोक्न आएको उहाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा १२ वटा ढुङ्गेधारा पुनःनिर्माण र जीर्णोद्धार गरिएको भन्दै उहाँले सम्पदा सरक्षणमा अवरोध आउन नहुने बताउनुभयो ।

सम्पदा जोगाउन भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएपछि चार दिनअघि सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा वाग्मती प्रदेश सदस्यहरु शशीजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटीलगायतको टोलीले उक्त निर्माणकार्यको अनुगमन गरेको थियो । अनुगमपछि प्रदेश सदस्य थापाले सम्पदा जोगाउने काममा नगरपालिकाले खेलेको भूमिका राम्रो रहे पनि यसको विरोध हुनु दुःखद् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तारका क्रममा अस्तित्व नै नरहने गरी धारा र पाटीलाई मास्ने काम गरिएकामा सम्पदा जोगाउन नगरपालिकाले जुन कदम चाल्यो, त्यो ठिक छ, विरोधको नाममा विरोधको औचित्य छैन ।”

नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष राम थापामगर सम्पदा जीर्णोद्धारमा कमीकमजोरीलाई हटाउँदै उक्त धारो र पाटीको मौलिकता जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष ध्रुव थापामगरले पाटी र धाराको उपभोग गर्ने स्थानीयले विरोध नगरेको बताउँदै परम्परागत र मौलिक शैलीमा धारा यथास्थानमा र धारा पछाडि पाटी निर्माण गरेको बताउँदै अहिले सकिने बेलामा विरोध हुँदा अचम्म लागेको बताउनुभयो । स्थानीय बासिन्दा राम श्रेष्ठले आफूले बच्चादेखि नै यही धाराको पानी पिउँदै आए पनि बाटो विस्तारको क्रममा पुरिएको धारो नगरपालिकाले फेरि त्यही ठाउँमा बनाएर मुहान सफा गरेर पानी आउने बनाउँदा स्थानीयवासी खुशी भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology