• Monday 3rd of August 2026

साढे सात केजी अफिमसहित दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो । प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु१ह १५७ नंको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो ।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको अफिम भारत पु¥याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य रु एक करोड बढी पर्ने बताइन्छ । यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा नं २ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology