• Monday 3rd of August 2026

फेला परेका मोटरसाइकल धनीको जिम्मामा


  • गोकर्णेश्वर अनलाइन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोभिड–१९ को माहामारीका बीचमा महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले खोजी गरी फेला परेको मोटरसाइकल आज एक समारोहका बीच धनीलाई हस्तान्तरण गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चावी हस्तानतरण गर्दै सवारी साधन पार्किङमा राखिएको छ भनेर मात्रै ढुक्क नहुन आग्रह गर्नुभयो ।

उपत्यकाका नयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, वसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडीबुटी, वनकाली, जोरपाटी र पुतलीसडकबाट ती मोटरसाइकल हराएको थियो ।

एकान्त ठाउँको पार्किङस्थल, घरको गेटबाहिर वा अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगर्दा, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नहुँदा, घरमा पार्किङ गरेको भनी लापर्वाही वा असुरक्षित पार्किङ गर्दा मोटरसाइकल चोरी हुने गरेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा ‘लस्ट भेइकल एप्लिकेशन’मा लगइन गरेर निवेदन दिन सक्नुहुन्छ ।”

उहाँले सवारी साधनलाई चोरी हुनबाट जोगाउन अतिरिक्त लक प्रयोग गर्न, अलरामलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न र एकै छिन त हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिनुभयो । महाशाखाले आर्थिक वर्ष २०७६÷७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक जितेस दाहालले जानकारी दिनुभयो । बन्दाबन्दीपछि हालसम्ममा पनि ६४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology