वासिङ्टन, २३ असोज (रासस / एपी) : अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको छ ।गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गर्नु भएको हो ।उहाँका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उहाँको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति सङ्क्रमित भएका छन् ।राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल जानु भएको थियो भने सोमबार निवास फर्किनु भएको थियो ।निवासबाटै पनि उहाँलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।उहाँका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिनुभएको हो ।
स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उहाँले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताउनु भएको थियो ।टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उहाँले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिनुभएको थियो ।सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उहाँले बताउनु भएको थियो ।राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।
उहाँहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिनु भएको हो ।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लाग्नु भएको छ ।
त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस रहनु भएको छ । उहाँहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।
