• Monday 3rd of August 2026

जोरपाटीमा साँघुरो आन्तरिक राजश्व कार्यालय , करदातालाई सास्ती


  • गोकर्णेश्वर अनलाइन

राजधानीको उत्तरपूर्वी भेगका करदातालाई सहज हुने गरी गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा खोलिएको आन्तरिक राजश्व कार्यालयमा स्थान अभावका कारण करदाताले सास्ती भोग्नुपरेको छ । यस क्षेत्रका काठमाडौँ महानगरपालिका वडा नं ६ गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ६ सम्म र शङ्खरापुर नगरपालिकाका २४ हजारभन्दा बढी करदाताका लागि गत भदौ १ गतेदेखि जोरपाटीमा कार्यालय खोलिएको थियो । कार्यालय भाडामा लिँदा मूल सडकको भवनको तेस्रो तलामा लिइएको छ । यस्ता कार्यालय भित्री सडकमा खुला स्थान बढी भएका ठाउँमा लिने व्यवस्था मिलाउन सेवाग्राहीले माग गरेका छन् ।

कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दी र निषेधाज्ञाले यसअघि कर बुझाउन नपाएकाहरु एकैपटक कार्यालयमा आउँदा भीड भई मूल सडकदेखि नै लाममा बस्न थालेका छन् । जसका कारण कोरोना फैलने त्रास बढेको छ । कार्यालय भित्री सडक क्षेत्रको बढी क्षेत्रफल भएका स्थानमा लिएको भए कोरोनाका त्रासका बीचमा भीडमा लाम बस्नुनपर्ने शङ्खरापुर–१ नाङ्लेभारेका ज्ञानेन्द्र ढकाल बताउनुहुन्छ । मूल सडकको तेस्रो तलामा राजश्व कार्यालय छ । दोस्रो तलामा कर दाखिला गर्न तोकिएको प्रभु बैंक छ । करदाता बैंकमा राजश्व तिर्न लाम लाग्दा व्यापारिक भवनको माथिल्लो तलासम्म जानेहरुका कारण कोरोनाको त्रासका बीच भीड बढ्ने गरेको छ ।

साँघुरो भ¥याङमा करदाता लाम लाग्ने र माथिल्लो तलामा रहेका कार्यालय एवं व्यावसायिक फर्ममा जानेहरुको दोहोरो आवतजावतले कोरोना सङ्क्रमण हुने भय रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बाट कर तिर्न लाममा बस्नुभएका श्यामबहादुर तामाङले गुनासो गर्नुभयो । विभागले उपयुक्त स्थानमा कार्यालय नराख्दा सेवाग्राहीले दुःख पाउनुपरेको लाममा बसेकाहरुको भनाइ छ ।

बैंकले दुई घण्टासम्म लाममा बस्दासमेत भौचर नदिँदा धेरै करदाता आक्रोशित हुने गरेका छन् । यसअघि चावहिलमा कार्यालय रहेका बेलाभन्दा कर बुझाउन असहज भएको छ । चावलिको कार्यालयमा पाँच मिनेटमा हुने कामका लागि जोरपाटीमा कार्यालय सरेपछि घण्टौँ लाग्ने गरेको छ । चावहिलमा एभरेष्ट बैंकले छिटो गर्ने कामलाई जोरपाटीमा प्रभु बैंकले धेरै समय लगाउने गरेको पनि सेवाग्राहीको गुनासो छ ।

काठमाडौँ महानगरपालिका वडा नं ६ स्थित एपेक्स लाइफ स्कूलबाट कर तिर्न आउनुभएका शिक्षक प्रकाश भट्टराई बैंकमा भौचर लिनकै लागि घण्टौँ लाममा बस्दा पनि पाउन नसक्ने, बैंकभित्र छिर्न नपाइने, भित्र ठाउँ खाली हुँदा पनि सुरक्षागार्डले बाहिरै लाम लगाउनेलगायत समस्या रहेको बताउनुहुन्छ । विभागले अनलाइनबाटै कर तिर्न सक्ने व्यवस्था गरे पनि करदाता शिक्षाको अभावका कारण धेरैले थाहा पाउन सकेका छैनन् । यसैकारण धेरै करदाता कार्यालयमै जम्मा हुन थालेका छन् ।

कार्यालयका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल कोरोनाका कारण यसअघि करदाता कर तिर्न आउन नसकेकाले खुला भएका बेला भीड बढी भएको बताउनुहुन्छ । करदाताले अनलाइनबाट नै धेरै काम गर्न सक्ने गरी व्यवस्था गरे पनि त्यस विषयमा जान्न नचाहेकाले समस्या आउने गरेको उहाँको भनाइ छ । विभागले मासिक रु तीन लाख भाडा तिर्ने गरी जोरपाटीको मूल सडकमा रहेको तेज चौतारी मलमा कार्यालय लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology