• Saturday 25th of July 2026

एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन


  • गोकर्णेश्वर अनलाइन

टीकापुर क्षेत्रका किसानलाई एक हजार ३३५ हेक्टर जमिनमा गहुँखेतीका लागि प्रोत्साहन गरिने भएको छ । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ६८५ हेक्टर जमिनमा गहुँखेती र ६५० हेक्टरमा गहुँको बीजवृद्धिका लागि सघाउने भएको हो ।

कृषितर्फले ६०० किसानलाई गहुँखेतीका लागि प्रोत्साहन गर्ने तयारी गरेको छ । किसानको मागअनुसार आयोजनाले गहुँखेती विस्तार कार्यक्रममा मागअनुसार खेतीमा सघाउने भएको हो । आयोजनाको २३५ हेक्टर जमिनमा यस वर्ष गहँुखेती विस्तार गर्ने लक्ष्य भए पनि किसानका माग धेरै आएपछि ६८५ हेक्टर जमिनमा खेती विस्तार गर्न थालिएको योजना अधिकृत तथा सूचना अधिकारी दिलीपजङ्ग रानाले जानकारी दिनुभयो । “न्यूनतम १० कठ्ठा क्षेत्रफलभन्दा माथि खेती गर्न चाहने ६०० किसान छनोट भएका छन् । छनोट भएका किसानले गहुँखेती गर्ने तयारी थालेका छन्”, योजना अधिकृत रानाले भन्नुभयो, “खेतीका लागि आयोजनाको कमाण्ड क्षेत्रमा रही उत्पादनमा वृद्धि गर्नको लागि गहुँखेती क्षेत्र विस्तारको कार्यक्रम भइरहेको हो ।”

आयोजनाले गहुँको बीजवृद्धि कार्यक्रमतर्फ ३०० हेक्टरमा खेती गर्ने लक्ष्य भए पनि ६५० हेक्टरमा खेती गर्न थालेको अधिकृत राना बताउनुहुन्छ । “बीजवृद्धि खेतीसमेत लक्ष्यभन्दा बढी जमिनमा गर्न थालेका छौँ”, राना भन्नुहुन्छ, “बीजवृद्धिको काम यस क्षेत्रका सहकारी तथा कम्पनीले गरिरहेका छन्, उनीहरुका मागअनुसार गर्दैछौँ ।”

आयोजनाको ५० प्रतिशत बीउमा अनुदान सहयोग र उत्पादनमा वृद्धि गर्नका लागि मूल बीउ र प्रजनन बीउमार्फत खेती हँुदैछ । आयोजनाको कमाण्डमा रहेका १२ वटा विभिन्न बीउ उत्पादक सहकारी र कम्पनीले उक्त खेती गर्ने भएको योजना अधिकृत रानाले जानकारी दिनुभयो । खाद्य उत्पादन वृद्धि गर्नका लागि आयोजनाले किसानलाई कृषिमा आकर्षण बढाउने खालका विभिन्न कार्यक्रम गर्दै आएको छ । कैलालीका आयोजना सञ्चालनपछि कृषिमा युवाको समेत आकर्षण बढेको छ । “आयोजनाले किसानलाई धान, गहुँखेतीमात्र नभई जुनसुकै खेतीका लागि समेत सघाउने गरेको छ । जमिनको जोहो गरेर किसान माग लिएर गए सहयोग पाउँछ”, स्थानीय रुपेश जैसी भन्नुहुन्छ, “अनुदानसहित प्राविधिक ज्ञानसमेत दिनु किसानका लागि फाइदा हो । आयोजना सञ्चालनपछि कृषिमा आकर्षण बढेको छ ।”

कृषितर्फले किसानलाई खेतीमा मात्र नभई प्रविधिमा समेत सघाउने गरेको छ । किसानलाई खेत जोत्न आवश्यक मेसिन, धान गहुँ काट्ने मेसिनजस्ता सहयोगसमेत गर्दै आएको छ । आयोजनाले किसानलाई मागका आधारमा मौसमी तथा बेमौसमी तरकारी खेती, केराखेती, च्याउखेती, गाजरखेती, घाँस खेतीजस्ता कार्यमा समेत अनुदान र सहयोग दिने गरेको छ । आयोजना सञ्चालनपछि यस क्षेत्रका किसान व्यावसायिकसमेत बन्न थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology