• Monday 3rd of August 2026

पानी लिफ्ट गरेर सिंचाइ गर्न विद्युतीकरण गरिँदै


  • गोकर्णेश्वर अनलाइन

हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सन लाइन(एचटी लाइन) विस्तारको तयारी गरिएको हो ।

उक्त नगरपालिका–२ को डिकुवाबाट रातमाटेदेखि सुनकोशीसम्म, वडा नम्बर–३ च्यास्मिटारको पिपलटारबाट सुनकोशीसम्म, वडा नम्बर–४को बडहरेबाट घोपाटार दूधकोशीसम्म, वडा नम्बर–६को मङ्गलटारबाट भदौरे दूधकोशीसम्म, वडा नम्बर–९को सल्लेबाट हात्तीटार दूधकोशीसम्म, वडा नम्बर–१० अर्खौलेको शिखरकटेरीबाट सुनकोशीसम्म, वडा नम्बर–११को राजापानीबाट भाटबेँसी सुनकोशीसम्म एचटी लाइनका लागि विद्युतीकरण गर्न लागिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “उज्यालो नगरपालिका अभियान अन्तरगत हाल नगरपालिकाका सबै वडामा विद्युत विस्तारको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “शाखा लाइनबाट नदीको पानी तान्न सम्भव नहुने भएकाले खेतीयोग्य जमिन भएका कोशी करिडोरमा हाइटेन्सनलाइन विस्तार गर्ने र नदीको पानी तानेर गाउँमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ काम शुरु गरिएको हो ।”

जिविकोपार्जनको आधार तयार गर्ने लक्ष्यकासाथ सिँचाई सुविधा पु¥याउनका लागि विद्युतीकरण गर्न नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा रू दुई करोड २४ लाख ६० हजार ५२२ (भ्याट सहित) बजेट स्वीकृत गरेको जनाइएको छ । प्राधिकरणले असोज २८ गते एचटी लाइन विस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि रू एक करोड ८९ लाख ४२ हजार ३०६ तथा ज्यालाका लागि रू ३५ लाख १८ हजार २१६ बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

बजेट स्वीकृत भएसँगै टेण्डर प्रकृया अघि बाढाइसकिएको नगरपालिकाले जनाएको छ । कोशी करिडोरमा नदीको पानी तान्नका लागि विद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रसँग गत असोज २२ गते प्रकृया अघि बढाएको थियो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मङ्गलटारको महादेवबेँसी र टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसीलगायत कोशी करिडोरमा रहेको खेतीयोग्य जमिनमा नदीको पानी तानेर खेती गर्न सकिने सम्भावना छ । ती स्थानमा खानेपानीसमेत ट्याक्टरमा ढुवानी गरेर ल्याइएको दूधकोशी तथा सुनकोशी नदीको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको र क्षेत्रमा अन्नबाली लगाउन वर्षे पानीको मात्र भर पर्दै आउनुपरेको थियो ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बृहत हलेसी लिफ्टिङ खानेपानी आयोजनाको कामसमेत तीव्रगतिमा भइरहेको छ।

करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी निकालेर गाउँमा वितरण गर्ने तयारी गरिएको छ । नदीबाट पानी तान्नका लागि सडक निर्माण, विद्युत विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम भइरहेको छ ।

महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर पानी निकाल्ने काम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology