• Monday 3rd of August 2026

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो ।

शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाएँ ।”

मिर्गाैला फेर्नका लागि रु २० लाखभन्दा बढी खर्च लाग्ने सम्बन्धित चिकित्सकले बताएपछि परिवारमा तनाव छाएको थियो । उहाँले भन्नुभयो, “यति ठूलो रकम कसरी जुटाउने भन्ने पीर र चिन्ताले सताइरहन्थ्यो ।” तँ आँट म पूरा गर्छु भनेझँै ईश्वरको आशीर्वादले स्थानीय युवाहरुले चालेको अभियानअन्तर्गत एकाएक सहयोग प्राप्त हुन थालेपछि अब त म बाँच्छु भन्ने आशा पलाएको उहाँले जानकारी दिनुभयो ।

सन्तोष बचाउ अभियानअन्तर्गत यसअघि रु १९ लाख चार हजार ९३५ बैंक खातामा जम्मा भइसकेको थियो । गत असोज २ गते मात्रै अमेरिकामा बस्दै आएका केशवटारकै स्थानीयवासी भीम थापा, कुलदीप राना, आशिष थापामगरको सक्रियतामा सङ्कलन भएको रु ६ लाख ४५ हजार २१० र ब्रिटिस आर्मीमा कार्यरत स्थानीय जीवन थापाको फेसबुकमार्फत युकेबाट रु तीन लाख ६६ हजार ११७ रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी, मलेसियाबाट रु ४५ हजार ८०० र ओमनबाट रु ३० हजार ४०० लगायत गरी कूल रु ११ लाख ६ हजार २९७ सहयोग रकम वडाध्यक्ष काजीमान श्रेष्ठमार्फत मिर्गौला पीडित रानालाई हस्तान्तरण गरिएको हो । स्थानीय छाब्दीबाराही युवा क्लब तथा सन्तोष बचाउ अभियानका मूल संयोजक दीपक थापाको संयोजकत्वमा भेषबहादुर आले, चुडामणि थापा, कर्णबहादुर थापालगायत युवाले रानालाई बचाउनका लागि सक्रिय भएर लागेको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । मिर्गौला पीडित रानाको श्रीमती सोनिया गर्भवती अवस्थामा रहेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology