• Monday 3rd of August 2026

पर्वलाई लक्षित सहुलियतको चामल विक्रि भएन


  • गोकर्णेश्वर अनलाइन

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय तुलसीपुरले सहुलियत दरमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन् ।

चाडपर्वका समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्तालाई सस्तो र सुपथ मूल्यको चामल उपलब्ध गराउने योजना ल्याएपनि चामल बिक्री हुन नसकेको सो कार्यालयले जनाएको छ । कार्यालयले गत भदौ २९ देखि मंसिर पहिलो हप्तासम्म सहुलियत दरमा चामल बिक्री गर्ने पसल सञ्चालनमा ल्याएपनि अहिलेसम्म सोचे अनुरुप बिक्री हुन नसकेको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिक्विन्टल रु पाँच सय सहुलियत दिइएको छ । पसलबाट एक उपभोक्तालाई बढीमा ५० किलोसम्म चामल उपलब्ध गराइने छ । हालसम्म जिरा मसिनो चामल एक क्विन्टल २५ किलोग्राम तथा जापानी चामल ९० किलोमात्र बिक्री भएको निमित्त प्रमुख चौधरीको भनाइ छ ।

उपभोक्ताको माग भएअनुसार पछिपछि अन्य खाद्यान्न तथा तेलसमेत राखिने बताइएको छ । सो चामल बिक्रीको बजार दर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्न राखेको चामलको भाऊ उस्तै उस्तै भएकाले उपभोक्ता आकर्षित हुन सकेका छैनन् । “कार्यालयले बजार मूल्यभन्दा सहुलियतमा चामल बिक्रीका लागि राखिएको छ तर सोचेजति बिक्री हुन सकेको छैन्”, निमित्त प्रमुख चौधरीले भन्नुभयो, “उपभोक्तालाई जानकारी नभएर हो वा सबैको घरमा खाद्यान्न भएर हो, सहुलियत दरको चामल प्रयाप्त मात्रामा बिक्री हुन सकेको छैन् ।”

प्रतिक्विन्टल जिरा मसिनो रु.पाँच हजार एक सय, सोना मन्सुली रु. चार हजार दुई सय, जापानी चामल रु. चार हजार सात सयमा बिक्री गर्दै आएको कार्यालयले जनाएको छ ।

यसैबीच कार्यालयले १८० क्विन्टल चामल जाजरकोटका लागि पठाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology