• Saturday 25th of July 2026

जुटको बोरा अभावमा धान खरिदमा ढिलाइ


  • गोकर्णेश्वर अनलाइन

कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन । धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन ढिलाइ गरी पुनः खरिद शुरु गर्ने टीकापुर खरिद केन्द्रका प्रमुख चेतमान कठायतले जानकारी दिनुभयो । “हामीसँग भएका सबै बोरा सकिएका छन्, धान खरिद गरेपछि केमा राख्ने ? समस्या भएर केही दिन रोकेका हौँ”, कठायतले भन्नुभयो, “बोरा व्यवस्थापन गर्दैछौँ, केही दिनमा फेरि शुरु गर्छौँ ।”

टीकापुरमा कात्तिक १८ गतेदेखि खरिद शुरु गरेको खाद्य व्यवस्था तथा कम्पनीले टीकापुर–१ को खाद्य गोदाम र वडा नं ४ को मौरनियाबाट धान खरिद गरिरहेको छ । टीकापुरको खाद्य गोदाममा भण्डारण गर्ने ठाउँ नहुँदा अहिले मौरनियाबाट धान खरिद भइरहेको उहाँ बताउनुहुन्छ । “मौसमसँगै बोराको व्यवस्थापन भए आउँदो आइतबारदेखि मौरनियाबाट धान खरिद शुरु हुन्छ”, कठायत भन्नुहुन्छ, “कम्पनीले यस आर्थिक वर्षमा कैलालीका विभिन्न चार स्थानबाट ६२ हजार क्विन्टल धान किसानबाट खरिद गर्ने लक्ष्य राखेर खरिद शुरु गरेको हो ।”

कम्पनीले टीकापुरबाट अहिलेसम्म आठ हजार क्विन्टल धान खरिद गरिसकेको छ । कम्पनीको लक्ष्यअनुरुप किसानबाट केन्द्रमा धान आउञ्जेल किसानको धान खरिद गरिने उहाँले बताउनुभयो । खाद्य व्यवस्था तथा कम्पनीले प्रतिक्विन्टल मोटा धान रु दुई हजार ७३५ र मध्यम धान रु दुई हजार ८८५ मा खरिद गरिरहेको छ । कम्पनीले धान खरिद गर्ने स्थानमा दैनिक सयौँ साधन धान बिक्रीका लागि लाइनमा बसेका हुन्छन् । बिहानै ४ बजेदेखि धान बिक्रीका लागि किसानको लाइन लाग्ने गरेको छ । उचित मूल्य पाएपछि लाइनमा बसेका किसानले धान बेच्न नपाउँदा भने दिक्क भएका छन् । “गाउँ तथा बजारमा रहेका गल्लामण्डीमा मूल्य पाइँदैन, त्यहाँ रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री भइरहेको छ”, स्थानीय किसान बन्धुराम चौधरी भन्नुहुन्छ, “यहाँ उचित मूल्य पाइन्छ भनी मैले धान बेचेको छैन । मजस्ता धेरै किसानले बिक्री गर्न पाएका छैनौँ ।”

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद गर्दै कैलालीका कृषि सहकारी –  BikashNews

किसानले धानको बिक्री मूल्य उचित पाउँदा यस वर्ष सरकारी खरिद केन्द्रमै धान बेच्ने गरेका हुन् । “धानको लागतअनुसारको उचित मूल्य पाउँदा हामी खुशी भएका छौँ तर रातदिन लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ”, जानकी–६ का किसान सन्देश विक भन्नुहुन्छ, “धान बेच्ने किसानको लर्को नसकिँदै अहिले धान खरिद बन्द भएको छ । गाउँतिरका किसानले पनि यस वर्ष उचित मूल्य पाइन्छ भन्दै धान बिक्री गरेका छैनन् ।” किसान विक खरिद केन्द्रले खरिद गर्ने ठाउँ बढाएर भए पनि किसानलाई सहज धान बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । “अहिले दुई ठाउँबाट खरिद गर्न थालिएको छ । थप दुई ठाउँ थपेर धान खरिद गरिनुपर्छ”, उहाँले भन्नुभयो, “कैलाली धानखेतीका लागि उर्वरभूमि हो । उचित मूल्य पाएमा कृषिमा थप आकर्षण बढ्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology