• Saturday 25th of July 2026

‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’ – खानेपानीमन्त्री थापा


  • गोकर्णेश्वर अनलाइन

खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ ।

उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्व आउने÷जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने उहाँको भनाइ छ । आफू लामो राजनीतिक जीवनपछि पहिलोपटक मन्त्रीका रुपमा जिम्मेवारीमा आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको हाम्रो मुख्य जिम्मेवारी निर्वाचन गराउने नै हो ।”

मन्त्रालयका सचिव माधव बेल्वासेले खानेपानी मन्त्रालय संरचनागतरुपमा सानो भए पनि मौलिक हकमा उल्लेख भएका अधिकारको कार्यान्वयन गराउने जिम्मेवारी भएको बताउनुभयो । खानेपानी र स्वच्छ वातावरणको हक कार्यान्वयन गराउने जिम्मेवारी भए पनि अहिले धेरै ठाउँमा पानीको स्रोत सुक्दै जानु चुनौतीका रुपमा देखा परेको उहाँको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारीका रुपमा रहेको ढल व्यवस्थापनमा समन्वयको समस्या रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “समन्वयकै अभावमा कतिपय स्थानमा ढल निर्माण भइरहेकामा समेत त्यो रोकिएको छ ।”

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रालयको जिम्मेवारी ठूलो भए पनि संरचना र जनशक्ति कम रहेको बताउनुभयो । खानेपानी एउटा निकाय मात्रै संलग्न भए पनि ढल निर्माण, मर्मत र व्यवस्थापनको जिम्मेवारी धेरै निकायले लिएकाले समस्या आउने गरेको उहाँको भनाइ छ ।

मन्त्री थापाले आज नै खानेपानी तथा सरसफाइसम्बन्धीको गुरुयोजना (वास प्लान) प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा अघि बढाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ । आज मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उहाँले मन्त्रालयले यसअघि कतिपय प्रदेश र पालिकासँगको समन्वयमा ‘वास प्लान’ शुरु गरेकामा बाँकी पालिकामा समेत अघि बढाउने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology