• Saturday 1st of August 2026

गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गरिने


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनाका रुपमा प्रदेश सरकारले अगाडि सारेका आयोजनाका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड ४१ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

आयोजनाअन्तर्गत गोसाइँकुण्डमा बाटो, बत्ती, पाटी, पौवा, शौचालय, नाचघर, पैदलमार्गलगायत संरचना निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय नुवाकोटका निमित्त प्रमुख सञ्जय पाण्डेले जानकारी दिनुभयो । गोसाइँकुण्ड नजिकै तीन वटा लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पाँच पाटीपौवा निर्माण गरिने उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार एउटा नाचघर, २८० मिटरकोे नाला तथा ३०० मिटरको पाइप बिछ्याएर पानी कटाउनेजस्ता कार्य योजनामा समावेश गरिएका छन् ।

आयोजनाले एक हजार ३२० मिटर पैदलमार्ग निर्माण गर्ने, गोसाइँकुण्डमा नुहाउने र कपडा परिवर्तन गर्ने घर बनाउने, सोलार बत्ती जडानलगायत काम गर्ने पाण्डेले बताउनुभयो । यस्तै रु ४२ लाख ८५ हजारमा गोसाइँकुण्ड मन्दिरको मर्मत गरिने मन्दिरको चौडाइ र लम्बाइ फराकिलो बनाइने तथा गजुर राखिनेलगायत कार्य गरिने जनाइएको छ ।

आयोजनाले हरेक वर्ष गोसाइँकुण्ड जाने पर्यटक तथा भक्तजनले पाटीपौवामा बास बस्न मिल्ने वातावरण मिलाउने, महिलामैत्री, अपाङ्गमैत्री भवन बनाउने, खानेपानीको उचित व्यवस्था गर्नुका साथै गोसाइँकुण्डमा हुने फोहर व्यवस्थापनलगायत त्यहाँका धार्मिक विश्वास, संस्कृतिको पनि जगेर्ना गर्ने जनाइएको छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले गोसाइँकुण्ड एकीकृत विकास आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा अगाडि बढाइएको बताउनुभयो । उहाँले आयोजनाको सबै पूर्वाधार अपाङ्ग, बाल, लैङ्गिक तथा वातावरणमैत्री हुने बताउनुभयो । वाग्मती प्रदेश हरित प्रदेशका रुपमा विकास हुँदै गएको भन्दै उहाँले प्रदेशमा संरचनाको निर्माण गर्दा फरकफरक स्थानअनुसारकै वातावरणमैत्री बनाइने बताउनुभयो ।

उहाँले गोसाइँकुण्ड एकीकृत विकास आयोजनामा निर्माण हुने भौतिक संरचना भूकम्प प्रतिरोधी हुने जानकारी दिनुभयो । आयोजनाले गोसाइँकुण्डको तालतलैया जोगाउने, त्यहाँको सांस्कृतिक, धार्मिक विश्वासलाई जोगाउने विषयलाई पनि महत्वका साथ लिएको मन्त्री फुयाँलले बताउनुभयो । उहाँले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आयोजना अगाडि बढाउन सक्रियता देखाएका कारण र उहाँको इच्छाशक्तिका कारण गोसाइँकुण्ड एकीकृत आयोजना अगाडि बढेको उल्लेख गर्नुभयो ।

आयोजनाको शुरुआत अघि मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ । छलफलमा वाग्मती प्रदेशसभा सदस्य प्रभात तामाङले गोसाइँकुण्ड पर्यटकीय क्षेत्रसँगै धार्मिकस्थल भएको बताउनुभयो । भारतीय कैलाश पर्वत भनेर तिब्बतसम्म पुग्ने गरेको बताउँदै उहाँले देशका लागि कैलाश पर्वत भनेकै गोसाइँकुण्ड भएको दावी गर्नुभयो ।

गोसाइँकुण्डको उचित विकास गरेर व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । गोसाइँकुण्ड धार्मिक हिसाबले पनि हिन्दूको मात्रै नभएर बौद्धको पनि धर्मथलो भएको उहाँको भनाइ थियो । उहाँले गुुम्बाको पनि निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । जनैपूर्णिमामा हिन्दू र बौद्धले एकैथानमा पूजा गर्ने देशकै एकमात्र स्थान गोसाइँकुण्डमात्रै भएको उहाँले दाबी गर्नुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले गोसाइँकुण्डमा सुन्दर, आकर्षक र बलिया संरचना निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार भोलिका दिनमा भत्काउन नपर्नेगरी पूर्वाधार बनाइने छ । प्राविधिक काम एक हप्ताभित्र सकिने र यही साता आयोजनाको काम अगाडि बढाउन टेन्डर निकाल्ने तयारी भइरहेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गोसाइँकुण्डदेखि त्रिशूलधारा जाने बाटो नभएको भन्दै आयोजनामा भएका कामभन्दा पनि आवश्यकताका आधारमा पदमार्ग निर्माण हुनुपर्नेमा जोड दिनुभयो । गोसाइँकुण्डबाट त्रिशूलधारा जाने बाटो राम्रो नभएका कारण करीब ८०० मिटरको बाटो प्रदेश सरकारले बनाइदिनुपर्ने उहाँको भनाइ छ । गोसाइँकुण्डमा हेलिकप्टरबाट दैनिक १० वटासम्म उडान हुने भएका कारण हालको हेलिप्याड काम चलाउ मात्रै भएको भन्दै एमआइ १७ हेलिकप्टर ल्याण्डिङ गर्न मिल्ने हेलिप्याड बनाइनुपर्ने आवश्यकता भएको अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology