• Saturday 1st of August 2026

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध


  • गोकर्णेश्वर अनलाइन

बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ ।

पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविद्युत् भदौ महिनाको २५ गते राति आएको अविरल वर्षाका कारण गएको पहिराले नहर भत्काएपछि विद्युत् अवरोध भएको चार महिना बितिसक्दा मर्मत नहुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । पहिराले विद्युत्को नहर बगाएको पाँच महिना बितिसक्दा पनि नगरपालिका र विद्युत् सञ्चालक समितिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो गरेका छन् ।

विद्युत् सेवा उपयोग गर्दै आएका स्थानीयवासी अध्यारोबाट छुटकारा कहिले पाउने भन्ने बारेमा अन्योलमा छन् । अहिले पहिराले नहर नै बगाएको लामो समय भइसक्दा पनि निर्माण नगर्नु विद्युत् सञ्चालक समिति गैरजिम्मेवार बनेको वडा नं ३ का शुकवीर खड्काले बताउनुभयो ।

विद्युत्को नहर भन्दामाथि नगरपालिकाले काटेको सडकका कारण पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत् सेवा नहरमा माटो जमेर बगाएपछि हालसम्म नहर निर्माण नगर्नु सञ्चालकको लापरवाही भएको खड्काको भनाइ छ ।

सडकले गर्दा अहिले हामीले विद्युत् बाल्न नपाएको विद्युत् सञ्चालक समितिले जनाएको छ । पहिराले नहर नै बगाएपछि कुनै सम्भावना नभएपछि विद्युत् सेवा सुचारु गर्न नसकेको बड्डीगाड लघु जलविद्युत्का व्यवस्थापक ध्रुव रेग्मीले बताउनुभयो ।

आर्थिक अभावका कारणले विद्युत्को नहर बनाउन समस्या भएको व्यवस्थापक रेग्मीले जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology