• Saturday 1st of August 2026

हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा


  • गोकर्णेश्वर अनलाइन

मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ । साथै, ९० वटा योजना चालू अवस्थामा रहेको र ३०२ वटा योजना सम्झौताको प्रक्रियामा रहेको सो उपमहानरपालिकाले जनाएको छ ।

कार्यालयका अनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा भौतिक पूर्वाधार विकास निर्माणतर्फ रु १६ करोड दुई लाख २८ हजार खर्च भएको बताइएको छ । पूर्वाधार निर्माणमा कूल खर्च १७.६३ प्रतिशत खर्च भएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाद्वारा खर्चसम्बन्धी उपलब्ध विवरणमा चालू आवका लागि रु दुई अर्ब ४८ करोडको बजेट विनियोजन गरिएको थियो । सो रकममध्ये कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रतर्फ आठ करोड ५५ लाख ९९ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६७ लाख ११ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु २८ करोड तीन लाख ४६ हजार, आर्थिक विकास क्षेत्रतर्फ १५ लाख ५२ हजार खर्च भएको हो ।

उपमहानगरपालिकाले कूल बजेटको ५३ करोड ४४ लाख ३८ हजार अर्थात २२.७१ प्रतिशत खर्च भएको उपप्रमुख लामाले जानकारी दिनुभयो । चालू आवको हालसम्म अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रम सम्झौता भई कार्य सञ्चालनका क्रममा रहेको तथा खर्च भुक्तानी नभइसकेको अवस्थामा क्षेत्रगत खर्चमा कमी देखिएको उहाँले बताउनुभयो ।

सो कार्यालयले चालू आवको पाँच महिनामा रु ७५ करोड ७६ लाख ८६ हजार आम्दानीसमेत गरेको छ । प्राप्त विवरणअनुसार उपमहानरपालिकाले सुत्केरी महिलालाई स्वस्थ्य जीवनयापनका लागि सुत्केरी भएको सात दिनभित्र स्वास्थ्य जाँचसहित पोषणयुक्त कोशेली उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सो अवधिमा ७४४ सुत्केरी महिलालाई उक्त सुविधा र ११ हजार १४४ जनालाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । त्यस्तै उपहानगरपालिकाको न्यायिक समितिको कार्य सम्पादनमासमेत प्रगति भएको छ । लामाले त्यहाँ न्यायिक समितिमा परेको उजुरीमध्ये ३१ वटा समाधान भएको छ भने १२४ वटा मुद्दा एवं विवाद प्रक्रियामा रहेको भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology