• Saturday 1st of August 2026

वन समूहले बाँड्न सकेनन् चिसोमा काठ दाउरा


  • गोकर्णेश्वर अनलाइन

कावासोती, १३ माघ (रासस) : विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । शीतलहर र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक बढी प्रभावित बनेका छन् ।

गएका वर्षमा बढी चिसो हुँदा यहाँका सामुदायिक वनले चोकचोकमा निःशुल्क रुपमा काठ दाउरा वितरण गर्ने गर्दथे । विभिन्न सामाजिक सङ्घ संस्थामाले आगो बालेर न्यानो प्रदान गर्नका लागि काठ दाउरा उपलब्ध गराउने गर्दथे तर , यसपाली भने वनबाट काठ दाउरा वितरण भएको छैन । विगत वर्षमा चिसो छल्नका लागि वनबाट निःशुल्क दाउरा वितरण गर्ने गरेको भए पनि यस वर्ष भने, वितरण गर्न नसकिएको विजय सामुदायिक वनका अध्यक्ष तथा वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताउनुभयो ।
सरकारले सालका काठ दाउरा ओसारपसार, सङ्कलन र बिक्री वितरणमा रोक लगाएपछि यसपाली धेरै ठाउँबाट माग भए पनि वितरण गर्न नसकिएको उहाँ बताउनुहुन्छ । “प्रायः वनमा सालका काठमात्रै रहेका छन्, तर ती काठ बाड्न भने पाएका छैनांै”, अधिकारीले भन्नुभयो ।
जिल्लाका विभिन्न सामुदायिक वनमा ठूलो परिमाणमा दाउराको घाटगद्दी भए पनि सरकारको निर्देशनको कारण सामुदायिक वनले अहिले ती काठ दाउराको ओसारपसार र बिक्री गरेका छैनन् । जसका कारण घर निर्माणको तयारी गरेका उपभोक्ताको निर्माणको कामसमेत प्रभावित बनेको हुप्सेकोट गाउँपालिकामा पर्ने मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन थापा बयम्बु मगरले बताउनुभयो ।

“जङ्गलको बीचमा बसेर घरमा काठका झ्याल, ढोका लाउन नपाइने, आल्मुनियम लाउनुपर्ने, कहिले पाइन्छ काठ भन्दै उपभोक्ता गुनासो गर्छन् । तर, हामी बाध्य छौं । घाटगद्दी गरेका काठ बिग्रन लागिसके उपभोक्तालाई दिन पाएका छैनांै”, मगरले भन्नुभयो । काठ दाउराको अभावमा नवलपुरको कावासोती, देवचुलीमा रहेका शवदाहस्थलमा समेत शव जलाउन दाउराको अभाव भएको छ । कावासोती नगरपालिका– १२ मा पर्ने घोसरघाट शवदाहस्थलमा दाउराको अभाव भएको कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले बताउनुभयो ।
दाउराको अभाव हुँदा अन्तिम संस्कार गर्न आउनेहरुले कि आफै बोकेर आउनुपर्ने नभए अन्यत्र लैजान भन्नुपर्ने अवस्था आएको काफ्लेले बताउनुभयो ।
नवलपुरमा सामुदायिक वन, चक्ला वन र साझेदारी वनमा गरी तीन लाख क्युफिट भन्दा बढी काठ घाटगद्दीमा छन् । साझेदारी सामुदायिक वनमा करीब २२ हजार क्युफिट, चक्ला वनमा करीब ६७ हजार र सामुदायिक वनमा करीब तीन लाख ३० हजार क्युफिट घाटगद्दीमा रहेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन काफ्लेले बताउनुभयो । ठूलो परिमाणमा काठ घाटगद्दी हुदाँ वनबाट हुने राजश्व सङ्कलनमा समेत असर परेको छ ।

सरकारले काठ बिक्री वितरणको लागि फुकुवा गरे पनि वन मन्त्रालयको कारण बिक्री वितरणको काम प्रभावित भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल केन्द्रीय सदस्य सीता खड्काले बताउनुभयो । त्यसका कारण घर निर्माणसहितको काम र सामुदायिक वनको नियमित कार्ययोजनामा समेत असर परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology