• Friday 31st of July 2026

हुवावेका स्मार्टफोनको बिक्री घट्यो


  • गोकर्णेश्वर अनलाइन

बेइजिङ, १६ माघ (रासस–एएफपी) – चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ ।

अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो ।

गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान बिक्री भएको क्यानालिसले जनाएको छ । औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्प (आइडिसी) ले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको जनाएको थियो ।

क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावे निकै कठिन समयबाट गुज्रिरहेको बताउनुभयो । अमेरिकी प्रतिबन्धहरुका कारण हुवावेले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उहाँको भनाई छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावे राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकी बजारमा हुवावेको प्रवेशलाई निषेध गर्नुका साथै अमेरिकी गठबन्धनका अन्य मुलुकलाई समेत यही नीति अबलम्बन गर्न दबाब दिनु भएको थियो ।

हुवावेले मोबाइल डिभाइसका अतिरिक्त पाँचौं पुस्ताको तिब्र गतिको इन्टरनेट र दूरसंचार उपकरणहरु पनि उत्पादन गरिरहेको छ ।

हुवावेले चीनका लागि जासुसी गर्ने गरेको अमेरिकी दाबी असत्य रहेको हुवावेको भनाई छ । अमेरिकी सरकारले हुवावेले जासुसी गरेको आरोप पुष्टी गर्न नसकेको पनि हुवावेले बताएको छ ।

हुवावे गत वर्ष केही समय विश्वमै सबैभन्दा बढी फोन उत्पादक कम्पनी बनेको थियो । हाल विश्वमा सामसुङ, एप्पल मात्र होइन चिनियाँ कम्पनीहरु साओमी र ओप्पोभन्दा पछि हुवावे छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology