• Saturday 1st of August 2026

परासीमा सुविधासम्पन्न बसपार्कको निर्माण शुरु


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा व्यवस्थितरूपमा यातायात व्यवस्थापनका लागि सुविधासम्पन्न बसपार्क निर्माण शुरु गरिएको छ ।

रामग्राम नगरपालिकाको पहल र प्रस्तावमा शहरी विकास मन्त्रालयको लगानीमा रामग्राम–४ केरवानीमा ‘रामग्राम बसपार्क’ निर्माण शुरु गरिएको हो ।

हाल सदरमुकाम क्षेत्रमा बसपार्क नहुँदा सडकमै अव्यवस्थितरूपमा सवारी साधन पार्किङ हुँदै आएको छ । परासीको मुख्य बजार बुद्धचोक नै बसपार्कको रूपमा प्रयोग हुँदा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको समेत जोखिम रहेको थियो । हाल बुद्धचोक–निलोगेटसम्मको सडक विस्तारका कारण केही समयदेखि अस्थायीरूपमा रामग्राम–४ स्थित जिल्ला समन्वय समितिको खाली जग्गामा बसपार्क सञ्चालन गरिएको छ । बसपार्कको अभावमा सवारी धनी, चालक र यात्रुले सास्ती खेप्दै आएका छन् ।

अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने गरी रु २७ करोडको गुरुयोजना स्वीकृत भएको र पहिलो चरणको निर्माण थालिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो । गुरुयोजनाअनुसारको संरचना निर्माण गर्न समय लाग्ने भएकाले पहिलो चरणमा चालु आवको असार मसान्तसम्ममा आधारभूत तहका पूर्वाधार निर्माण गरी बसपार्क प्रयोगमा ल्याउने तयारी गरिएको छ । आगामी दशैँसम्ममा बसपार्क प्रयोगमा ल्याउने गरी निर्माणलाई तीव्रता दिएको नगरप्रमुख गुप्ताको भनाइ छ ।

सरकारले यस वर्ष रु चार करोड ९० लाखको लागतमा बसपार्कमा आधारभूत पूर्वाधार निर्माणका लागि समिर कन्ट्रक्शनलाई निर्माणको जिम्मेवारी दिएको मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ चितवनका प्राविधिक वीरेन्द्र मण्डलले बताउनुभयो । नगरप्रमुख गुप्ताबाट शिलान्यास गरी बसपार्क निर्माण अघि बढाइएको हो ।

आगामी साढे पाँच महिनाभित्र बसपार्कअन्तर्गत सुविधासम्पन्न शौचालय, टिकट काउण्टर, सुरक्षाकक्ष, फुटपाथ, बसपथलगायत पूर्वाधार र माटो फिलिङको काम सम्पन्न हुने रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो । बसर्पाक निर्माणसँगै रामग्राम व्यवस्थित शहरको रूपमा स्थापित हुने उहाँले बताउनुभयो ।

लामो प्रतिक्षापछि नगर क्षेत्रमा बसपार्क निर्माण शुरु भएसँगै नगरवासी खुशी भएका छन् । समयमै निर्माण सम्पन्न भई प्रयोगमा ल्याउनुपर्ने भन्दै निजी क्षेत्रले पनि बसपार्क निर्माणमा सहयोग गर्ने नवलपरासी उद्योग वाणिज्य सङ्घका महासचिव गिरिराज पाण्डेले बताउनुभयो ।

यसअघि सात÷आठ वर्षअघिदेखि नै रामग्राम–१२ स्थित सिसैधारीमा बसपार्क निर्माण गर्ने योजना अघि सारिएको थियो । तर त्यहाँ बसपार्क निर्माणमा स्थानीयवासीबाट अवरोध भएपछि विकल्पको रूपमा परासी बजारबाट करिब ८०० मिटर पश्चिम केरवानी गाउँको करिब साढे दुई बिघा क्षेत्रफलमा नगरसभाबाट निर्णय गरी बसपार्क निर्माण शुरु गरिएको नगरप्रमुख गुप्ताले बताउनुभयो । निर्माणाधीन बसपार्क बजारबाट केही पर भए पनि सडक सुविधाको पहुँच र ग्रामीण क्षेत्रको विकासमा पनि टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology