• Friday 31st of July 2026

निर्वाचन समाचारः नवलपुरमा एघार हजार मतदाता थपिए


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) जिल्लामा एघार हजार बढी मतदाता थपिएका छन् । ‘नवलपुर’मा गत निर्वाचन भन्दा ११ हजार ४०९ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण शर्माका अनुसार गत निर्वाचनका समयमा नवलपुरमा कूल दुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । नयाँ मतदाता थपिएसँगै यो सङ्ख्या बढेर हाल कूल मतदाता सङ्ख्या दुई लाख ३३ हजार १२३ पुगेको हो ।

नवलपुरमा हाल एक लाख २३ हजार ५५२ महिला, एक लाख नौ हजार ५६७ पुरुष र तेस्रो लिङ्गी चार मतदाता रहेका छन् । यही माघ १६ र १७ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिएको थियो । मृत्यु भएका, बसाइँसराइ गरेका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएकालगायतका मतदाताको सङ्ख्या घट्ने उहाँले बताउनुभयो ।

नवलपुरमा अद्यावधिकबाट करीब ३० मात्रै मतदाता घट्नसक्ने देखिएको कार्यालयले जनाएको छ । मृत्यु भएकाको नामावली आए पनि नागरिकता नम्बरसहित नआउँदा मतदाता नामावलीबाट नाम हटाउन नसकिने हँुदा कम मात्रमा सङ्ख्या घट्ने देखिएको छ । मृत्यु भएका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन एकाघरपरिवारका सदस्यले खासै चासो नदिँदा यो सङ्ख्या घट्ने अवस्था कम भएको उहाँले बताउनुभयो । अद्यावधिकपछिको मतदाता नामावलीको विवरण निर्वाचन आयोगमा पठाइने र आयोगले अन्तिम नामावली पठाएपछि एकिन मतदाताको सङ्ख्या थाहा हुने प्रमुख शर्माले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा एउटा नयाँ मतदानस्थल थप हुने भएको छ । केही मतदानस्थल सार्ने तथा केहीको नामावली सच्याइने कार्यालय जनाएको छ । मध्यविन्दु नगरपालिका –१३, नम्बर वडामा पर्ने कोटथर भन्ने स्थानका– ३५० जना मतदाता २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालिका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी हुप्सेकोट गाउँपालिका–४ स्थित साविक गाविस भवनमा रहेको मतदानस्थललाई हुप्सेकोट गाउँपालिकामा सार्ने भएको छ । मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी स्वास्थ्यचौकीमा रहेको मतदानस्थलमा अहिले वडा कार्यालय स्थापना भएकाले नाम परिवर्तन गर्ने र जिल्लाका विभिन्न स्थानका साविकका केही मतदानस्थलको नाम परिवर्तन गर्नुपर्ने देखिएकाले ती नामलाई परिवर्तन गर्ने समेत निर्णय भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

सरकारले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन कार्यालयले मतदाताको नामावली अद्यावधिक गर्ने काम सकेको छ ।

प्रदेश निर्वाचन क्षेत्रमा ९९ योजना छनोट

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ९९ योजना छनोट गरिएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्लाका चार निर्वाचन क्षेत्रमा ९९ योजना छनोट गरिएको हो ।

प्रदेशको निर्वाचन क्षेत्रमा प्रत्यक निर्वाचन क्षेत्रका लागि रु दुई करोड विनियोज हँुदै आएको छ । यहाँ रहेका चार निर्वाचन क्षेत्रका लागि प्राप्त रु आठ करोड बजेटबाट ९९ योजना छनोट गरिएको हो ।

प्रदेशसभा सदस्यले नवलपुरका चार निर्वाचन क्षेत्रका लागि चालू आर्थिक वर्षको बजेटबाट ९९ योजना छनोट गरेका हुन् । प्रदेशको एउटा निर्वाचन क्षेत्रमा बढीमा २५ योजना छनोट गर्नुपर्ने प्रावधानअनुसार तीनवटा क्षेत्रमा २५÷२५ का दरले योजना छनोट गरिएको छ । नवलपुरको निर्वाचन क्षेत्र २ (ख) मा भने २४ योजना छनोट गरिएको छ ।

छनोट गरिएका योजनामा धेरैजसो पूर्वाधार तर्फ सडकको स्तरोन्नति योजना रहेका छन् । चारवटै क्षेत्रमा सडक निर्माणका योजना धेरै रहेका छन् । यस्तै शिक्षा तर्फ विद्यालयका भवन निर्माण, पर्खाल निर्माण, कृषि तर्फ केही सिँचाइका लागि बाँध कुलो निर्माण मठ, मन्दिर निर्माणका योजना छनोट गरिएको छ ।
समाजिक सङ्घ संस्थाका भवन निर्माण र खेलकूद तर्फका योजनासमेत चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा समेटिएको छ । चालू आर्थिक वर्षमा सडक स्तरोन्नति, शिक्षा, कृषि, खेलकूदलगायतका क्षेत्रलाई प्राथमिकता दिएर योजना छनोट गरिएको नवलपुर १ (ख)का गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले बताउनुभयो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकतालाई ध्यानमा राखी प्राप्त रकमको अधिकतम सदुपयोग हुने गरी आफूले यस वर्षका लागि योजना छनोट गरेको जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा प्रायः उस्तै खालका योजना छनोट गरिएका छन् । छनोट गरिएका योजना कार्यान्वयका लागि यस वर्ष पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिइएको छ । गत वर्षसम्म जलस्रोत तथा सिँचाइ विकास डिभिजनमार्फत प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुँदै आएकोमा यस वर्षदेखि पूर्वाधार विकास कार्यालयमार्फत काम गर्न लागिएको पूर्वाधार विकास कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख रवीन्द्र तिवारीले बताउनुभयो ।

प्रदेशसभा सदस्यले छनोट गरेका योजनाको विवरण आफ्नो कार्यालयमा प्राप्त भएको र यसको कार्यान्वयनको चरणमा आफूहरु लाग्न थालेको उहाँले जानकारी दिनुभयो । योजना चालू आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने गरी प्रत्येक योजनाको कार्यान्वयनका लागि प्राविधिकलाई जिम्मेवारी बाँडफाँड गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology