• Saturday 25th of July 2026

फेरिँदै आन्तरिक पर्यटनका गन्तव्य


  • गोकर्णेश्वर अनलाइन

नेपाल शिक्षक सङ्घले पालिकास्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्नेका पर्यटकीय क्षेत्र रोज्यो । राष्ट्रिय युवा सङ्घ र नेपाल तरुण दलको भेला पनि जैमिनीकै हाँडीकोटमा भए ।

सदरमुकामकै अमर आदर्श माविको शैक्षिक भ्रमण टोलीले यस वर्ष ढोरपाटनलाई प्रमुख गन्तव्य बनायो । गलकोट दरबार र टेउवास्थित अन्तर्राष्ट्रिय मूर्तिकला केन्द्र र गाईघाट झरना पुगेर टोलीले भ्रमण गरेको थियो । यी त उदाहरणमात्रै हुन् । पछिल्लो समय आन्तरिक पर्यटनका लागि बागलुङ प्राथमिकतामा पर्न थालेको छ । “पहिला घुम्न पोखरा जान्थ्यौँ, अहिले कालिका र पञ्चकोट हेर्न पोखराका धेरै मानिस आउन थालेका छन्”, बागलुङ पर्यटन समितिका अध्यक्ष राजु खड्काले भन्नुभयो, “हाम्रा क्षेत्रले पनि पर्यटक आकर्षण गर्न सक्छन् भन्ने देखाउन पायौँ ।”

कोरोना महामारीका कारण विदेशी पर्यटक आउन सक्ने अवस्था छैन । यसअवधिमा बागलुङ आएका आन्तरिक पर्यटकले आम्दानीमात्रै नभई पर्यटकीय क्षेत्रको प्रचारसमेत भएको छ । कोरोना सङ्क्रमण हटेको र लकडाउन खुला भएको अवसरमा अघिल्लो महिना होटल सङ्घ बागलुङले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बागलुङदेखि ढोरपाटन, गाईघाट, घुम्टेलगायतका स्थानमा मोटरसाइकल यात्रासमेत गरायो । तत्काल विदेशी पर्यटक नआउने अवस्था भएकाले जिल्लाभित्रै घुम्ने संस्कृतिको विकास गरिएको अध्यक्ष निलेस राजभण्डारीले बताउनुभयो ।

“गाउँघरकै वातावरणमा घुम्न पाइने, जैविक खाना र ग्रामीण बस्तीलाई प्रवद्र्धन गर्ने लक्ष्यमा साथ दियौँ”, राजभण्डारीले भन्नुभयो, “व्यवसाय बढाउने नयाँ तरिका पनि बनायौँ ।” जिल्लाभित्रका गन्तव्य बढाउन र प्रचार गर्न बागलुङ पर्यटन समितिले प्याकेजका कार्यक्रमसमेत बनाएको छ । सदरमुकाम नजिकै रहेको पञ्चकोटमा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक पुग्छन् । त्यहाँ पुग्ने पर्यटक धेरै घुम्नकै लागि पुगेको पाइन्छ भने केही समूह सङ्गठन र संस्थाले बैठकका लागिसमेत पञ्चकोट रोज्ने गरेका छन् ।

बागलुङमा पछिल्लो पटक निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको बाङ्गेचौर अदुवारी संसारकै लामो झोलुङ्गे पुलको क्षेत्रसमेत रोजाइमा पर्न थालेको छ । कोभिड–१९ त्रास केही कम भएपछि सीमित सदस्य सङ्ख्या लिएर वनभोजमा निस्किएको अखिल नेपाल महिला सङ्घले पुल छेवैमा बसेर आफ्नो भेलासमेत सम्पन्न गर्यो । “होटल रेष्टुराँका हलमा भेला गर्दा हुने खर्चको बचत हुने, हाम्रो दायित्व पनि हो नयाँ गन्तव्यको प्रचार गर्नु हो”, पर्यटकीय ठाउँको प्रचार सङ्घमा आबद्ध महिला नेत्री ललिता थापाले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology